बिर्तामोड , पुष ६ । बिर्तामोड २ चैतुबारीकी ४२ वर्षिया दिनो राजवंशीको हत्याको अनुसन्धान जारी राखेको प्रहरीले घटनामा संलग्नको नजिक पुगेको जनाएको छ ।

हिजो बिहान संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिमप्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान थालेको थियो । आफूहरुले हिजैबाट घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । ‘प्रहरीको काम अनुसन्धान गर्ने हो ’उनले भने ,‘ दोषी पत्ता लगाउँदैछौं ।’ बिरबहादुर राजवंशीकी श्रीमती दिनो हिजो विहान खेतमा मृत फेला परेकी हुन् । शनिबार बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन ती महिला घरबाट हिडेकी थिइन् ।त्यसपछि बेपत्ता भएकी उनको हिजो विहान लाश फेला परेको हो ।

जगत राजबंशीको खेत लिजमा लिई ३ बर्षदेखि उनीहरुले कुखुरा फार्म संचालन गर्दै आएका छन् । त्यही फार्ममा श्रीमानलाई खान पुर्याउन जान्छु भनी खाना लिई हिडेकोमा फार्ममा समेत नपुगेको र राति अबेरसम्म घर फर्की नआएकाले खोजी गर्दा फेला नपरी हिजो बिहान घरबाट अन्दाजी ३०० मिटर पश्चिममा लाश फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही ठाउँका मोहन मगरको खेतमा नाक र मुखबाट सामान्य रगत बगेको,उतानो अवस्थामा लाश फेला पारी उनका छोराले ईलाका प्रहरी कार्यालय घैलाडुब्बालाई जानकारी गराएका थिए । लाशको छेउमै खानाको पोको र टर्चलाइट भेटिएको छ । घाटी थिचेर र टर्चलाइटले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । महिलाको लाशलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ । त्यसबाट धेरै कुरा खुल्ने बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताए । शुरुमा बलात्कारपछि हत्या गरेको आशंका गरिएपनि त्यस्तो केही नदेखिएको उनले जानकारी दिए । त्यस्तै महिलाको गोजीमा भएको १३ हजार नगद पनि उनको साथबाटै भेटिएको थियो । यसबाट आपराधिक मनसाय भएका बाहिरका ब्यक्तिले सो घटना नगराएको र परिवारकै हात हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्