सपना आचार्य,
माई , पुष ६ । इलामको माई नगरपालिकाका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा प्रदान गर्दै उपमेयर सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा पोषणयुक्त खानेकुरा प्रदान गरिएको हो । सुत्केरीलाई पोषणयुक्त खानेकुरा प्रदान गर्दै प्रमुख बरालले गाउँघरमा असुरक्षित सुत्केरी गराउने कार्यले बच्चा र आमा असुरक्षित रहने भन्दै बर्थिङ्ग सेन्टरबाट प्रसुती गराउन सबैलाई आग्रह गरे । प्रमुख बरालले उपमेयर सुत्केरी पोषण कार्यक्रम माईमा सञ्चालन गर्नु राम्रो र महत्वपूर्ण भएको भन्दै स्वस्थ बच्चा जन्माउन सहयोग गर्ने करुणा फाउण्डेसन नेपाल र वान हर्ट संस्थालाई धन्यबाद दिए । बाटो, बिजुली, भवन निर्माण भनेका विकासका पूर्वाधार भएको भन्दै बरालले सुत्केरी आमालाई पोषण सामग्री प्रदान चाहिँ प्रत्यक्ष विकास नै भएको जानकारी दिए ।
माई नगरपालिका महिला बालबालिका शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा दानाबारी स्वास्थ्य चौकीको वर्थिङ्ग सेन्टरबाट सेवा लिएका ३० जना सुत्केरी महिलाहरुलाई चामल, हर्लिक्स, चना, केराउ, घ्यू र आईरन टोसिक प्रदान गरिएको महिला निरीक्षक जमुना पौडेलले जानकारी दिइन् ।
माईका उपमेयर बिष्णुमाया आचार्यको अध्यक्षता स्वास्थ्य संयोजक पुष्कर कट्टेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा मेयर दिपककुमार थेबे, वडाध्यक्ष खम्बसिंह लिम्बु, जिल्ला समन्वय समितिका सदस्य रत्नबहादुर अधिकारी, समन्वय अधिकारी हरिबहादुर दहाल, मेडिकल अधिकृत रामकृष्ण आचार्य, जिल्ला स्वास्थ्य कार्यालयका विमल बराल, करुणा फाउण्डेसन नेपालका जिल्ला ब्यबस्थापक अजित योञ्जन, अधिकृृत छबि श्रेष्ठ, वान हर्टका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

यसैबीच वान हर्ट र नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको दानाबारी स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरलाई जिल्ला समन्वय समितिका प्रमुख बरालले उद्घाटन गरेका छन् । वान हर्टकै साझेदारीमा महमाई स्वास्थ्य चौकीको निर्माणाधीन बर्थिङ्ग सेन्टरको अनुगमन गरी दुई लाख ५० हजार बराबरको बथिङ्ग सामग्री समेत वान हर्टले उपलब्ध गराएको छ ।
त्यस्तै समन्वय प्रमुख बराल, मेयर थेबे, उपमेयर आचार्य, वडाध्यक्ष रामप्रसाद सदेम्वा, करुणा फाउण्डेसनका इलाम प्रमुख अजित योञ्जन, अधिकृत छबि श्रेष्ठ, समुदाय संयोजक विमल दहाल, सिबिआरएफ पबित्रा कडेललगायतको टोलीले हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमले समुदायमा पारेको प्रभावका बारेमा अन्तरकृया गरेको थियो ।
अन्तरकृयापछि माई–४ र ६ का तीन जना अपाङ्गता भएका ब्यक्ति तथा परिवारसंंग स्वास्थ्यमा आएको परिबर्तनका बारेमा टोलीले जानकारी लिएको थियो ।
समन्वय प्रमुख बरालले माई–६ की ९४ बर्षिया जानुकादेवी भट्टराईलाई नगद ५ हजार र मेयर थेबेले खानेकुरा प्रदान गर्दै तथा वडाध्यक्ष मुखराज आङ्गदम्बेले दोसल्ला ओढाई सम्मान गरेका थिए । माई नगरपालिकाले ९० बर्ष माथिका ३७ जनालाई नगदसहित सम्मान गरेको बताईएको छ ।