झापा , पुष ६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीले बाध्यतामा परेर संसद विघटन गरेको बताएका छन् ।

ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुडीमा प्रदेश प्रशिक्षण केन्द्र झापाको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै राईले सामान्य अवस्थामा यस्तो खालको परिस्थिति ननिस्कने बताए । उनले भने ‘एउटा बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम के हुन्छ ? सायद त्यस्तै अवस्था सिर्जना भयो कि ।’
‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय यात्रा तय गर्दै एक ढिक्का भएर अघि बढेको सरकारलाई बारम्बार अवरोधहरु आइरह्यो’ मुख्यमन्त्री राईले भने, ‘यो एकदमै नराम्रो कुरा हो । ’
उनले आफ्नै पार्टीभित्र फेरि देश बन्दतिर धकेलियोस् भन्ने चाहना राख्नेहरुकै कारण नै आजको दिन आएको दावी गरे । नेकपा पार्टीभित्रै देशको घटना र परिस्थितिलाई ठिक ढङ्गले बुझ्ने व्यक्तिको कमी हुँदा देश आजको अवस्थामा पुगेको राईले दावी गरे ।
४७ विगाह क्षेत्रफलमा पैmलिएको झापाको प्रदेश प्रशिक्षण केन्द्र २०१९ सालमा ग्रामीण विकाससम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने उद्धेश्यले तत्कालीन बडाहाकिम रामनारायण श्रेष्ठको सक्रियतामा स्थापना भएको थियो । २०३१ सालमा उक्त प्रशिक्षण केन्द्रको नाम पञ्चायत विकास प्रशिक्षण केन्द्र रह्यो । २०५० सालमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐनले यो प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्रको रुपमा नामकरण भएको थियो ।

अहिले स्थापना भएको प्रदेश प्रशिक्षण केन्द्रका बारेमा बताउँदै प्रदेश प्रशिक्षण केन्द्रका निर्देशक गणेशप्रसाद तिम्सिनाले प्रदेश स्वायत्त संस्था गठनसम्बन्धी ऐन २०७६ बमोजिम जारी भएपश्चात् संचालन तथा व्यवस्थापनसम्बन्धी नियमावली २०७७ बमोजिम गठन भएको बताए ।
तिम्सिनाले भने, ‘साविकको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्रको भवन तथा प्रशिक्षण संचालनका लागि निर्माण भएका संरचना प्रदेश सरकारलाई उपभोगका लागि २०७६ साल फागुन ५ गते हस्तान्तरण भएको हो ।’

तिम्सिनाका अनुसार प्रदेश सरकारले यो नियमावली पारित गरी प्रदेश सरकार, प्रदेश स्तरका आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय, आयोग, प्राधिकरण, प्रदेश स्तरका आयोग, स्थानीय तह र सरकारी तहका कर्मचारीको र पदाधिकारीको क्षमता अभिबृद्घि तथा संस्थागत क्षमता बृद्घिका लागि यो प्रशिक्षण केन्द्र स्थापना गरिएको हो ।
प्रदेश सभासद बसन्त बाँनियाले बेलैमा यस्ता संरचना प्रदेशलाई हस्तान्तरण हुनुपथ्र्यो भन्दै तर ढिला भए पनि सुरु भएको बताए ।
एक पटकमा २ सय जनालाई राखेर प्रशिक्षण दिन सकिने हल भएको उक्त प्रशिक्षण केन्द्रमा ५० जना बस्न मिल्ने आवास गृहहरु पनि रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्