माई , पुष ६ । सशस्त्र बेस क्याम्प दानाबारीका प्रहरी निरीक्षक दिलिप बस्नेतलाई सोमबार एक कार्यक्रमका बीच इलामको माई नगरपालिकाले विदाइ गरेकोे छ ।

माई नगरपालिकालगायत दक्षिणी इलामका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, वन जंगल संरक्षण गर्न, चोरी तस्करी नियन्त्रण गर्न र कोभिड–१९ महामारी न्यूनीकरण गर्नलगायत कार्यमा अब्बल भूमिका निर्वाह गरेको भन्दै सम्मानसहित विदाई गरिएको माईका मेयर दिपककुमार थेबेले जानकारी दिए । बस्नेत पाँच महिनाअघि दानाबारी आएका थिए ।
प्रहरी निरीक्षक बस्नेतलाई नेपाल रेडक्रस सोसाईटी दानाबारी शाखा र युवा सशक्तिकरण सञ्जाल माईले समेत सम्मानसहित विदाइ गरेको छ । उनी काभ्रे जिल्ला सरुवा गएको जनाइएको छ ।
त्यस्तै सोमबार नै सशस्त्र बेश क्याम्प दानाबारीमा संखुवासभाबाट आएका प्रहरी निरीक्षक दिनेशकुमार श्रेष्ठलाई स्वागत गरिएको छ । स्वागत कार्यक्रममा मेयर थेबेले शान्ति सुरक्षा कायम गर्न तथा स्थानीय सरकारसंगको समन्वयमा जनमैत्री कार्य गर्न अनुरोध गरे ।
कार्यक्रमलाई माई नगरपालिका प्रशासन शाखा प्रमुख नविनकुमार पौडेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्