भद्रपुर, पुष ७ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनेको छ ।

आज भद्रपुरस्थित सीटी गार्डेनमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले भद्रपुर नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका भएको घोषणा गरिन् ।
घोषणासँगै भद्रपुर प्रदेश नं १ को पहिलो र देशको पाँचौं बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बन्न सफल भएको हो ।

भद्रपुर नगरप्रमुख एवम् बालमैत्री स्थानीय शासन नगर समितिका संयोजक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित घोषणा समारोहमा उपप्रमुख चन्द्रा श्रेष्ठले भद्रपुरको बालमैत्री स्थानीय शासनको दीगोपनाका लागि गरिने क्रियाकलाप बारे जानकारी दिएकी थिइन् ।
बालबालिका क्षेत्रका अन्तर्राष्ट्रिय मूल्य–मान्यता, राष्ट्रिय ऐन–कानून, कार्ययोजना तथा कार्यविधिहरुको पूर्ण पालना गर्दै सबै ३९ सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति र प्रदेश नं १ सरकारको अनुगमन टोलीले वस्तुगत र संस्थागत अनुगमन गरी स्वीकृति प्रदान गरेपछि भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
‘बालबालिका सबैका प्यारा, बालमैत्री नगर हाम्रो अभिभारा’ भन्ने मूल नाराका साथ २०७४ साल पुस ३ गते भद्रपुरमा बालमैत्री अभियानको शुरुआत भएको थियो भने कोभिड–१९ का कारण घोषणा केही ढिलो गर्नुपरेको पनि उनको भनाइ छ ।

नगरपालिकाको सामाजिक शाखा प्रमुख जीवनकला राउत र अभियानका संयोजक टिकाराम पाण्डेले संयुक्तरुपमा सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि गजमेरले भद्रपुर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बन्न सफल भएकोमा बधाइ दिँदै यसको दिगोपनाका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले स्वागत गरेको समारोहका बीच बालमैत्री अभियानमा सक्रिय साथ–सहयोग पुर्याउने व्यक्तित्व तथा संघ–संस्थालाई सम्मान गरिएको थियो । नगरकै पहिलो बालमैत्री वडा बनाउन सफल वडा नं ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेललाई ‘बालमैत्री अभियान योद्धा’को रुपमा सम्मान गरिएको थियो भने बालमैत्री अभियानकर्मी सुमन ढकाललाई नगद ५० हजार, पत्रकार नोलो आवाज साप्ताहिकका सम्पादक दीपक अधिकारीलाई नगद १० हजार, कलाकार कृष्ण अनमोल र युवा वैज्ञानिक अनिल प्रधानलाई जनही ५ हजार, मिस पूर्वाञ्चल पूजा श्रेष्ठ र मेची–महाकाली साइकल यात्री श्वेता श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।

समारोहमा प्रदेशसभा सदस्य सन्त बानियाँ, प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस ३ नै क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर नगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवम् इलामको चुलाचुली गाउँपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलगायतले शुभकामना मन्तव्य राखेको नगरपालिकाकी सञ्चार संयोजक गंगा बरालले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्