बिर्तामोड , पुष ८ । बिर्तामोड नगरपालिका वडा नं ६ मा रहेको भद्रपुर माविको जग्गामा अतिक्रमण गरी घर बनाउनेहरुलाई हटाएर खाली गराउनुभन्दा जग्गा हडप्नतर्फ विद्यालय परिवार नै उद्यत भएको देखिएको छ ।

भर्खरै थपिएका नयाँ घरहरु

सरकारी जग्गामा बसेकाहरुलाई हटाउनुको साटो खाली जग्गामा समेत अरुलाई घर बनाएर बस्न दिने व्यवस्था विद्यालय परिवारले मिलाउन थालेको हो । बिर्तामोड ६ मा रहेको भद्रपुर माविको साढे १७ विगाह जग्गा विद्यालय परिवारले विचौलियासँग मिलेर बेचिखाएको समाचार प्रतिदिन दैनिकले प्रकाशित गरेपछि सबैको ध्यानाकर्षण भएको थियो । त्यसपछि भद्रपुर माविले जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो । त्यस्तै जग्गामा बसेकाहरुको तथ्यांक लिन विद्यालयले शुरु गरेको थियो ।तर, त्यस सरकारी जग्गामा बसेकाहरुको तथ्यांक लिएर खाली गराउने प्रक्रिया शुरु गर्नुपर्नेमा विद्यालय आफैले खाली जग्गामा थप मानिस बसाउन थालेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पलाल राजवंशी नेतृत्वको तथ्यांक संकलन समितिले खाली जग्गामा समेत घर बसाउने काम गरिरहेको बताइएको छ । विद्यालयको तथ्यांक संकलन टोलीकै अगाडि खाली जग्गामा धेरैले घर बनाइरहेका छन् ।टोलीले आफ्नै अगाडि घर बनाइरहँदा अनदेखी गरिरहेको छ । टोलीले मंसिर १७ गतेदेखि तथ्यांक संकलन थालेको थियो । टोलीले तथ्यांक संकलन थालेयता विद्यालयको जग्गामा थप तीन परिवारले घर निर्माण गरेका छन् । अम्बिकादेवी विश्वकर्मा , राई थरका ब्यक्तिसहित तीन परिवारले भर्खरै त्यहाँ घर निर्माण गरेका हुन् । ६० हजार रुपैयाँ कविराज विश्वकर्मालाई दिएर आफूले घर निर्माण गरेको अम्बिकाले बताइन् । विद्यालय परिवारकै सहमतिमा उनीहरुले घर निर्माण गरिरहेको बताइएको छ ।

त्यसैगरी तथ्यांक संकलनमा खटिएको टोलीले विद्यालयको जग्गामा घर बनाएकाहरुको परिवारपिच्छे पारिवारिक विवरण लिनु पर्नेमा सगोलमै बसेका सदस्यहरुको अलगअलग फारम भराउने गरेको बताइएको छ । अलगअलग फारम भरेपछि अलग्गै जग्गा पाइन्छ भन्ने सोचाइ रहेको छ । जसको लागि टोलीले सहयोग गरिरहेको बताइएको छ । त्यस विषयमा विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजवंशी र प्रधानाध्यापक कुलबहादुर गुरुङबीच मतभेद भएको छ । दुवै जनाले आफूखुशी फारम भर्दै तथ्यांक लिने गरेको पाइएको छ । दुवैले आफू–आफूलाई आधिकारिक बताउँदै आएका छन् भने एकले अर्काले लिएको तथ्यांकलाई अस्वीकार गर्ने गरेका छन् । आर्थिक लोभमा परी यसअघिका विद्यालय व्यवस्थापन समितिले विद्यालयको खाली जग्गामा मानिस बसाउँदा नै समस्या अहिले जटिल बनेको हो । विगतमा ३४ घर रहेको विद्यालयको जग्गामा यसअघिको व्यवस्थापन समितिले ३०४ घर ल्याएर बसाएको थियो भने अहिले हजारभन्दा बढी घर पुगेको छ । त्यसलाई न्यूनीकरण गर्नुको साटो अहिलेको व्यवस्थापन समितिले समेत त्यसैगरी समस्या थप्ने काम गरिरहेको प्रअ गुरुङ बताउँछन् ।त्यस विषयमा आफूहरुको ध्यानाकर्षण भएको भन्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठले व्यवस्थापन समितिका अध्यक्ष राजवंशीलाई स्पष्टीकरण सोध्ने जानकारी दिए । विद्यालयको जग्गा विचौलियासँग मिलेर मनोमानी तवरले बेचबिखन गर्न थालेपछि त्यसका बारेमा अख्तियारमा उजुरी परेको छ । त्यसउपर छानविन भइरहेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्