झापा, पुष ८ । झापाका १५ वटा पालिकामध्ये ७ वटा पालिकाको नेतृत्व नेकपाले गरिरहेको छ भने ५ वटा पालिकामा कांग्रेस र ३ वटा पालिकामा राप्रपाको नेतृत्व छ । प्रतिनिधिसभा विघटन भएसँगै नेकपा ओली समूह र प्रचण्ड नेपाल समूहमा विभाजन भएको छ ।

नेकपा केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक बस्न थालिसकेका छन् । झापामा भने प्रतिनिधिसभा विघटन हुनुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा उनी इतर भेला भएको थियो । पार्टीको आन्तरिक बहसलाई घनिभूत र पार्टी एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै प्रचण्ड–नेपाल समूहले भेला गरेको थियो ।

प्रतिनिधिसभा विघटन भएसँगै नेकपाका जनप्रतिनिधि पनि आ–आफ्नो गुटको पार्टी विधि, प्रक्रियालाई लिएर बहसमा व्यस्त छन् । नगरप्रमुख र उपप्रमुख फरक–फरक समूहमा भएका पालिकामा विकासमा पनि प्रभाव पर्ने देखिन्छ । झापा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी ओली समूहका हुन् भने उपप्रमुख पवित्रा महतारा प्रसाईँ नेपाल समूहकी हुन् । त्यस्तै भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ ओली समूहका हुन् भने उपप्रमुख चन्द्रा श्रेष्ठ नेपाल समूहकी हुन् । स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक कलहको प्रभाव नगरप्रमुख र उपप्रमुखमा देखा पर्न थालेको छ । जसले विकासमा प्रत्यक्ष असर पर्ने गरेको स्रोतले जनाएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना नेपाल समूहका हुन् भने नेकपाकै उपप्रमुख कमला आचार्य तटस्थ रहेकी छन् । नेकपाबाटै निर्वाचित शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्मा तटस्थ छन् । शिवसताक्षीकी उपप्रमुख भोजकुमारी नेपाल, नेपाल समूहकै हुन् ।

त्यस्तै झापाको कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मञ्जु प्रसाईँ तटस्थ देखिएका छन् । आफूहरु अहिले पर्ख र हेरको अबस्थामा रहेको नगर प्रमुख पोखरेलले बताए । दमक नगरपालिकामा नेकपाकै नगरप्रमुख र उपप्रमुख रहेका छन् । नगरप्रमुख रोम ओली नाताले प्रधानमन्त्री ओलीका भतिजा पर्छन् । उनी ओली समूहमा नै सक्रिय छन् । नगरउपप्रमुख गिता अधिकारी पनि ओली समूहकै हुन् । एकै समूहका भएका कारण नगरमा गरिने कुनै पनि निर्णयमा विवाद नहुने गरेको एक कार्यपालिका सदस्यले बताए । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी दुबै ओली समूहका हुन् । झापाको मेचीनगर नगरपालिका, गौरादह, बाह्रदशी र झापा गाउँपालिकामा कांगे्रसको नेतृत्व रहेको छ । त्यस्तै हल्दिबारी , कचनकवल र गौरीगञ्ज गाउँपालिकामा राप्रपाको नेतृत्व रहेको छ ।
ओलीको गृहजिल्लामा प्रचण्ड–नेपाल समूहकै वर्चस्व

विभाजनको घोषणा हुन मात्र बाँकी रहेको नेकपाको झापा जिल्ला कमिटीमा केन्द्रीय कमिटीजस्तै प्रचण्ड–नेपाल समूहकै बर्चस्व देखिएको छ । १७५ जनाको जिल्ला कमिटीमा दुईतिहाई प्रचण्ड–नेपाल समूहका रहेका छन् । कूल १७५ मध्ये १२५ जना आफूहरुको सदस्य भएको प्रचण्ड–नेपाल समूहका एक जिल्ला सदस्यले बताए । पार्टी एकीकरण हुँदा तत्कालीन माओवादीका ७५ जना जिल्ला सदस्यमा अटाएका थिए । ती जिल्ला सदस्य र नेपाल समूहका गरी दुइतिहाई सँख्यामा प्रचण्ड–नेपाल समूहका पुगेका हुन् । जिल्ला कमिटीको अध्यक्ष चिन्तन पाठक ओली समूहका हुन् भने सचिव विजय साम्पाङ प्रचण्ड–नेपाल समूहका । त्यस्तै ७ जनाको जिल्ला कार्यालय कमिटीमा ५ जना प्रचण्ड–नेपाल समूहका छन् । चिन्तन पाठक र प्रेम गिरीबाहेक अरु सबै आफ्नै समूहका भएको ती जिल्ला सदस्यले बताए । त्यसैगरी जिल्लाको सचिवालय कमिटी , सबै नगर र गाउँ कमिटीमा समेत आफूहरुको दुईतिहाई सँख्या रहेको उनले दावी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्