अर्जुनधारा , पुष ८ । अर्थ मन्त्रालयले समयमा बजेट निकासा नगर्दा झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे–खुदुनावारी सडक अलपत्र परेको छ ।

निर्माण सम्पन्न हुनुपर्ने मिति सकिएको ६ महिनासम्म पनि रकम निकासा नहुँदा सडक निर्माण अलपत्र परेको हो ।सडक भत्काएर अलपत्र छोडेपछि सो क्षेत्रका सर्वसाधारणले सास्ती ब्यहोरिरहेका छन् । भौतिक पूर्वाधार विकास कार्यालयको ९ करोड रुपैयाँ लागतमा शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७५ साल असार २७ गते ठेक्का लागेको थियो । कञ्चनजंघा–शेर्पा–कञ्चनजंघा जेभीले सडक निर्माणको ठेक्का पाएका थिए । २०७७ असारमा सडक निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको भएपनि बजेट निकासा नहुँदा सडक निर्माण अलपत्र परेको हो । समयमा काम सक्न दवाव आएपछि ठेकेदार संस्थाले सब–बेसको काम सकेर कालोपत्रे गर्न तयारी गरेको थियो । तर, असारमा बुझाएको बिलको हालसम्म भुक्तानी नदिएको निर्माण कम्पनीका सञ्चालक फुर्तेम्बा शेर्पाले बताए ।

यतिबेला स्थानीयले धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै सडकमा बाँस तेस्र्याएर अवरोध गरेका छन् । निर्माणको काम किन अलपत्र पारेको ? भन्ने प्रश्नमा शेर्पाले आफूले रकम भुक्तानीका लागि मन्त्रालय धाइरहेको बताए । ‘लगभग १ करोड रकम भुक्तानी पाउन माग गर्दै मन्त्रालय धाइरहेको छु’ शेर्पाले भन,े ‘आफूसँग भएको रकम खर्च गरिसकेको हुनाले रकम अभावमा काम अघि बढ्न नसकेको हो ।’सडक निर्माणको सम्झौता सकिएको ६ महिना बितेपनि काम भने ५० प्रतिशतको हाराहारीमा मात्र भएको छ । भौतिक पूर्वाधार विकास कार्यालयअन्तरगतको सो सडक स्तरोन्नतिको ठेक्का करिब ९ करोडमा ठेक्का लागेको थियो । झापा आन्दोलनका योद्धाको शहादतस्थल सुखानी पार्कहुँदै इलाम जोडिने यो सडक वर्षौदेखि हिउँदमा धुलाम्मे र बर्षातको समयमा हिलाम्मे हने गरेको छ ।जनप्रतिनिधिले उक्त सडक निर्माणका लागि चासो नदेखाएको स्थानीयको दुःखेसो छ । समयमा सडक नबन्दा स्थानीय सरकारप्रति समेत सर्वसाधारणको आक्रोश बढेको छ । संघीय सरकारले प्रदेश सरकारको मातहतमा सडक निर्माण गर्ने भएपनि समयमा निर्माण सम्पन्न नहुँदा स्थानीय तहसँग सरोकारवाला आक्रोशित भएका हुन् ।सरकारले बजेट समयमा नै निकासा नगरेकै कारण निर्माण कम्पनीले पनि काममा चासो देखाएको छैन ।

अर्जुनधारा नगरपालिकाले उक्त धुलाम्मे सडकमा धुलो मार्नका लागि पानी हाल्ने र बर्खाको समयमा हिलो हुँदा बालुवा गिट्टी हाल्ने काम गर्दै आएको नगरप्रमुख हरिकुमार राना बताउँछन् । नगरले उक्त सडक समयमा सम्पन्न गर्नका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गरेपनि सुनवाई नभएको जनाइएको छ ।‘सम्झौताभित्र उक्त सडक निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले सास्ती बेहोर्नु परेको छ’, नगरप्रमुख राना स्वीकार गर्छन्, ‘नगरले निवर्तमान प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद बृख प्रधानसहितलाई पटक–पटक भनेपनि सडक निर्माणमा अर्थ मन्त्रालयबाटै चासो देखाइएको छैन ।’स्थानीयले सम्झौताभित्रै सडक निर्माण गरिनु पर्ने र धुलोका कारण सास्ती बेहोर्नु परेको भन्दै लामो समयदेखि पटकपटक सडक बन्द गरेपनि सुनवाइ भएको छैन । दक्षिणी इलामलाई झापासँग जोड्ने वैकल्पिक यो सडक समयमा नै निर्माण हुनसके जिल्लाबासीलाई सहजता पुग्ने छ ।अहिले शनिश्चरे–खुदुनाबारी सडकको नारायण चोक, गढी, खुदुनाबारी खण्डमा स्थानीयले बाँसका ढाटदेखि टायर र इँटा राखेर अवरुद्ध गरेका छन् । पाँच स्थानमा यहाँका स्थानीयले सडक अवरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्