कुमरखोद , पुष १० । झापा गाउँपालिका वडा नं २ मा रहेको उत्सव कृषि सहकारी संस्थाले छैंठो वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ ।

संस्थाले झापा बजारमा रहेको सामुदायिक भवनमा साधारणसभाको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेको छ । पिछडा उत्थान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण केवरतको प्रमुख आतिथ्यतामा जयनारायण शाहको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाकी कोषाध्यक्ष कल्पना खड्काले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । चुक्ता शेयर पूँजी २७ लाख १६ हजार रुपैयाँ रहेको संस्थाले यो वर्ष ७ लाख ४७ हजार ५ सय १६ रुपैयाँ मुनाफा कमाएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष शाहले यस सहकारी संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापासँग समन्वय गरी मकै जोनअन्तर्गत एकजना सदस्यलाई स्वदेशी हाईव्रेड मकै प्रदर्शनीमा पार्न सफल भएको भन्दै उक्त परियोजनावाट उन्नत जातको मकैको वीउ २५३ केजी ५० प्रतिशत अनुदानमा वितरण गरेको जानकारी दिए । १२३ जना शेयर सदस्य रहेको यस सहकारी संस्थामा आउने आर्थिक वर्षमा २०० जना शेयर सदस्य वृद्धि गर्ने लक्ष्य रहेको उनले बताए । सहकारीको सेवाक्षेत्र रहेको गाउँवस्तीमा गएर समुह गठन गरिने उद्धेश्य रहेको बताउँदै शाहले शेयर सदस्यको मृत्यु भएमा नगद १० हजार दिने योजना सुनाए ।

उपाध्यक्ष सुन्दरलाल गणेशले स्वागत गरेको कार्यक्रममा अतिथिहरु झापा गाउँपालिका वडा नं १ अध्यक्ष राजकुमार यादव , वडा नं २ अध्यक्ष नेत्रबहादुर खड्का , कार्यपालिका सदस्य राजकुमार कोच, साना किसान सहकारीका प्रवन्धक रुपक राजवंशी , पिछडा उत्थान सहकारीका प्रवन्धक शंंकर शाह , मिथिलेसकुमार गणेश , मनोजकुमार राजवंशी , मोहन कार्की , पवित्रा राउत, कृष्ण खड्का लखि गणेश, रामवहादुर खड्कालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन उत्सव कृषि सहकारी संस्थाका प्रवन्धक पशुपतिलाल गणेशले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्