भद्रपुर , पुष ११ । झापा बिर्तामोड ८ का तीनवटा टोलहरुमा आजबाट प्लाष्टिक झोला बहिष्कार गर्ने अभियान थालनी गरिएको छ ।

सेन्ट जेभियर्स स्कुल देउनियाको आयोजना तथा गणेश पाञ्चायन मन्दिरको सहजीकरणमा वडा नं. ८ अन्तर्गतका गणेश टोल ,शुक्रराज टोल र किसन भिट्टा टोलका ३ सय घरधुरीलाई प्लाष्टिकमुक्त बनाउने अभियान थालनी गरिएको हो ।

आज विद्यालय प्रांगणमा आयोजित कार्यक्रमकाबीच विद्यालयका फादर बोनीफस टिग्गा तथा वडा न.ं ८ का कार्यवाहक अध्यक्ष दिपक भट्टराईले तीनवटै टोल विकास संस्थाका प्रतिपरिवारलाई एक–एकवटा कपडाको झोला , लुगाधुने र नुहाउने एक–एकवटा सावुनको डल्ला तथा एक– एक थान टावेल हस्तान्तरण गर्दै अभियानको थालनी गरिएको थियो ।

“एउटै संकल्प हाम्रो ,प्लाष्टिक हटाउने लक्ष्य हाम्रो” जस्ता नारासहित उपस्थित सहभागी स्थानीयहरुले टोल परिक्रमा समेत गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका फादर फसले मानव जीवनमा जथाभावी फ्यालिने प्लाष्टिकले पार्ने असर तथा वातावरण प्रदुषणका विषयमा जानकारी गराउँदै सबैले कपडाको झोला प्रयोग गरी प्लाष्टिकमुक्त क्षेत्र बनाउन आग्रह गरेका थिए । उनले विद्यालय आसपासको १ किलोमिटरको क्षेत्रलाई पूर्ण प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा विद्यालय लागेको बताउँदै अभियानको कार्यान्वयनमा सहयोग गर्न सबैसंग अपिल गरे । कार्यक्रममा कार्यवाहक वडाध्यक्ष भट्टराई , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डम्बर तिम्सिनालगायतले मन्तव्य राख्दै अभियानलाई निरन्तरता दिदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
आगामी सोमवारसम्म चारवटै चरण सम्पन्न गरिसक्ने लक्ष्यका साथ अभियानको सुरुवात गरिएको मन्दिरका सचिव तथा अभियान संयोजक अनिल गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्