सपना आचार्य,
माई , पुष ११ । प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले सुकुम्बासीलाई जग्गाको मालिक बनाएरै छोडिने बताएका छन् ।

माई नगरपालिकामा ७२ प्रतिशत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबास भएकाहरुले अबका केही महिनामै धनीपुर्जा पाउने घोषणा गर्दै मन्त्री रानाले सबै माईबासीलाई केही दिनमा आफ्नो स्वामित्वमा धनीपुर्जा आउने दावी गरे ।

इलामको माई नगरपालिकामा शनिबार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासको विवरण र तथ्याँक संकलन इकाई कार्यालयको उद्घाटन गर्दै मन्त्री रानाले जंगल फाडेर बसेका, नदी उकासमा बसेका तथा पुरानो बाटो क्षेत्र मासेर दश बर्षदेखि निरन्तर बसेका सुकुम्बासीहरुलाई चाँडै जग्गाको मालिक बनाईने दाबी गरे । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासका भएकाहरुले चाँडै धनीपुर्जा पाउनेगरी अमिनलगायतका कर्मचारी करारमा नियुक्ति गर्न समेत माई नगरपालिकालाई मन्त्री रानाले अनुरोध गरे ।

माई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बिशेष अतिथि रहेका इलामका प्रदेश साँसद काजीमान कागतेले अग्रगमनको बाटोमा लागेको सरकारले नीति कार्यक्रममा उल्लेख गरिएका कुरा पूरा गर्ने दावी गरे । साँसद कागतेले नेकपाभित्रको असहमतिलाई संकेत गर्दै ‘तपाई कता, म कता’ जस्ता दुविधामा नअल्मलिई अग्रगमनको बाटोमा समाहित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जग्गा ब्यबस्थित गर्न र धनीपुर्जा हातमा आउन धेरै समय पर्खनु नपर्ने धारणा राखे । प्रमुख बरालले विपन्न परिवारका लागि फुसका छानालाई हटाइ टिनको छानो बनाउने कार्यक्रम ल्याएको बताए ।

प्रदेश १ का नगरपालिका संघका अध्यक्ष तथा इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जनताको आधारभूत आबश्यक्ता पूरा गर्न सरकारको स्वरुपका आधारमा भर पर्ने दावी गरे । वर्तमान सरकार नागरिकको खाना, छाना र नाना पहिलो प्राप्तिमा लागेको उनले बताए ।
कार्यक्रमको अध्यक्षता गरेका माईका मेयर दिपककुमार थेबेले भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधान गर्न वडा र नगरलाई सबै प्रकारको सहयोग गर्न आम नगरबासीमा अनुरोध गरे । उनले ७२ प्रतिशत क्षेत्र अब्यबस्थित रहेको माईमा रातो र सेतो फारम भरी आफ्नो स्वामित्वमा धनीपुर्जा लिनसमेत आग्रह गरे । आइतबारबाटै फारम भर्ने र तथ्याङ्ग संकलनको काम थालिने उनले जानकारी दिए ।

लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्नेक्रममा इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार ५१५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो ।
माई नगरपालिकामा ९५७ घरपरिवार सुकुम्वासी छन् । यस्तै ३ हजार २३८ घरपरिवार भने अव्यवस्थित रूपमा बसोबास गरिरहेकाहरुको तथ्याँक छ । सुकुम्वासी र अव्यवस्थित गरी चार हजार १९५ घरपरिवार सुकुम्वासी रहेको प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।
सरकारले भूमिसम्बन्धी ऐन २०२१ को आठौं संशोधनपछि नियमावलीको १८ औं संशोधनका आधारमा नौवटा कार्यविधि तयार पारेर काम थालेको बताईएको छ ।

यसका लागि आगामी फागुनसम्ममा लगत संकलनका लागि पालिकाले फारम भराउने छन् । अव्यवस्थित रूपमा बसोबास भएकालाई सेतो र दलित तथा व्यवस्थित रूपमा बसिआएका तर लालपुर्जा नपाएका सुकुम्बासीलाई गुलाबी रङ्गको भराइने मेयर थेबेले जानकारी दिए ।
उपमेयर बिष्णुमाया आचार्यले स्वागत तथा वडा अध्यक्ष मुखराज आङ्गदम्बेले सञ्चालन गरेको कार्यक्रममा नेकपा माईका अध्यक्ष धनकुमार लिम्बु, नेपाली कांग्रेसका मोहन नेम्वाङ्गलगायतले मन्तब्य राखेका थिए

त्यसैगरी माई नगरपालिका ४ मा रहेको साना किसान महिला कृषि सहकारी संस्था लिमिटेडको दशौं साधारणसभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री रानाले कृषिमा आधुनिकीकरण गर्न महिला मात्रैले सञ्चालन गरेको सहकारी झन् संक्षम रहने दावी गरे ।
एक हजार १ सय ७८ जना महिला शेयर सदस्य रहेको सहकारीको साधारणसभामा प्रदेश साँसद कागते, जिल्ला समन्वय समितिका प्रमुख बराल, इलामका मेयर महेश बस्नेत, माईका मेयर थेबे, उपमेयर आचार्यलगायतको सहभागिता रहेकोले थियो ।
संस्थाको करिब ११ करोड शेयर पूँजी रहेको छ । सहकारीले विभिन्न क्षेत्रमा काम गर्ने समुहका सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ठ किसानहरु प्रेमकुमारी श्रेष्ठ, माया भेट्वाल र रामकुमारी सिंह, उत्कृष्ठ ऋणी डम्बरकुमारी श्रेष्ठ, उत्कृष्ठ समुह, समुह नम्बर १५, उत्कृष्ठ संचालक जसोदा पौड्याल र उत्कृष्ठ कर्मचारी सृजना खवास रहेका छन् । साधारणसभामा निम्न आय भएका सदस्यहरुलाई ब्लांकेट सहयोग गरिएको थियो भने चार बर्ष कार्यकाल पुरा गरेका सञ्चालक समितिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
संस्थाका ब्यबस्थापक इन्द्रबहादुर रैका मगरको सञ्चालन तथा अध्यक्ष कल्पना थापाको अध्यक्षतामा कार्यक्रम भएको कर्मचारी सिर्जना खवासले जानकारी दिइन् । साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्