झापा, पुष ११ । बिर्तामोड ३ स्थित मिशन चर्चले मुसहर बालबालिका र महिलालाई न्यानो लुगा वितरण गरेको छ ।

क्रिसमस पर्वको अवसर पारेर चर्चले बिर्तामोड ३ र १० मा रहेका दुईवटा मुसहरवस्तीका बालबालिका र महिलालाई जाडोका लागि न्यानो लुगा वितरण गरको हो । दुवै मुसहरवस्तीका ५५ जना बालबालिका र १५ जना महिलालाई ट्रयाकसुट र जम्पर वितरण गरिएको चर्चका पास्टर ज्वेल भुजेलले बताए । उनले क्रिसमसको अवसर पारेर गत बुधबारदेखि लुगा वितरण गर्दै आएको जानकारी दिए । त्यसैगरी आइतबार बिर्तामोडको मुक्ति चोकदेखि काँकडभिट्टासम्म सडकमा भेटिनेहरुलाई ५० थान न्यानो लुगा बाँड्ने कार्यक्रम रहेको उनले सुनाए । बिर्तामोड ३ स्थित अन्धुवा खोलाको बगरमा रहेको १० घरको मुसहरवस्ती र बिर्तामोड १० स्थित विराटपोखरमा रहेको ९ घरको पुरानो मुसहरवस्तीलाई लक्षित गरी चर्चले विभिन्न सहयोग गर्दै आएको छ । चर्चले यसअघि मुसहरवस्तीमा तीनवटा शौचालय निर्माण गरिदिएको थियो । त्यस्तै नियमित रुपमा खाद्यान्न , पोषण पदार्थलगायतका राहत वितरण गर्दै आएको मुसहरवस्ती निर्माण समितिका संयोजक इन्द्रसिंह राजवंशीले बताए । क्रिसमसको अवसर पारेर मिशन चर्चले प्रत्येक वर्ष न्यानो लुगा वितरण गर्दै आएको छ । गत वर्ष ताप्लेजुङ र तेह्रथुममा लुगा वितरण गरिएको भुजेलले जानकारी दिएका छन् ।

त्यसैगरी कमल गाउँपालिका वडा नम्बर ७ ठूलो बाह्रघरेका अतिविपन्न ३१ परिवारका करिब २१० जना मुसहरहरुलाई न्यानो कपडासँगै विविध शैक्षिक सामग्री वितरण गरिएको छ । नवयुवा सञ्जाल,रोट्याक्ट क्लब अफ दमक,बन्जरा कन्स्ट्रक्सन ,सत्यम सोलुसन,शिवसताक्षी फुड सेन्टर र उद्यम स्कुल मिलेर न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक सुरज बन्जराले बताए । कार्यक्रममा स्थानीय समाजसेवी तथा विभिन्न अग्रज ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्