बिर्तामोड, पुष १३ । आफ्नी गुरुआमाको जन्मोत्सवको अवसरमा झापाका दुई जना समाजसेवी तथा व्यवसायीहरुले नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’मा तीस हजार रुपैयाँ सहयोग गरेका छन् ।

महेन्द रत्न माध्यमिक विद्यालय अनारमनीकी संस्थापक शिक्षक निरा प्रधानको ७६ औं जन्मोत्सवको अवसरमा सोमबार भूतपूर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा पब्लिक अनारमनी क्याम्पसका अध्यक्ष, समाजसेवी तथा सफल व्यवसायी राजकुमार पोखरेलले नगद २५ हजार र पत्रकार तथा गोर्खा टेलरिङ सेन्टरका प्रोपाइटर युवा व्यक्तित्व विरु दर्नालले पाँच हजार रुपैयाँ गरी ३० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
उनीहरु दुवैले आफूलाई शिक्षाको ज्योति प्रदान गरेर समाजमा स्थापित गराउन सफल गुरुआमाको जन्मोत्सव कार्यक्रममा नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवकोटीलाई सो रकम प्रदान गरेका छन् ।
मोफसलमै पहिलोपटक पत्रकार महिलाहरु संगठित भएर २०६९ सालमा स्थापना भएको संस्थाले २०७५ साल भदौमा पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने उद्देश्यले रु. २५ लाखको अक्षयकोष स्थापना गरेको थियो ।
पछिल्लो समयमा अक्षयकोषलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न व्यक्तित्वहरुले रकम प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष शिवाकोटीले बताइन् ।