दमक, पुष १४ । जंगली हात्तीले उपद्रो मच्चाउँदा गएराति झापाको कमल गाउँपालिका वडा नं ५ मा पर्ने टुकुरे र गुहेश्वरी टोलका आधा दर्जन घरमा क्षति पुर्याएको छ ।

वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार गए राति करिव २ बजेतिर ६ वटा संख्यामा आएको जंगली हात्तीको वथानले बितण्डा मच्चाउँदा टुक्रेका बलबहादुर विष्ट,बसन्त धिमाल,देव लिम्बू,इश्वरी भट्टराई,तुलसी वराल र सुकमाया लिम्बूको घरमा क्षति पुर्याउनुका साथै अन्नवाली समेत सखाप पारेको छ । बस्तीमा हात्तीको बथान नै पसेपछि रातभर त्यस क्षेत्रमा त्रास उत्पन्न भएको उनले बताए ।
चुरेसंगै नजिकैको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट हात्तीको समूहले एकाएक घर भत्काउन थालेपछि रातभरि त्यहाँ भागाभाग मच्चिएको थियो । हात्तीको उपद्रोका कारण स्थानीय बासिन्दाहरु घर छाडेर भाग्नुपरेको थियो । सर्वसाधारणले हात्तीका कारण मध्यरातदेखि नै बस्न नसकिने अवस्था भएको बताउँँदै वडाध्यक्ष निरौलाले प्रहरी बोलाएर हात्ती धपाएको जानकारी दिए ।
दमकबाट गएको जनपथ प्रहरी र लखनपुरस्थित सशस्त्र प्रहरीको टोलीसहितका सुरक्षाकर्मीहरुले दुई घण्टा लगाएर हात्तीलाई पूर्वतर्फ धपाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्