राजगढ , पुष १५ । बाह्रदशी १ की २१ वर्षिया मैदी हस्दाको गर्भमा ८ महिनाको बच्चा छ । सुत्केरी गराउने बेला हुन लागिसक्यो । तर, उनले न आफ्नो जीउको स्याहार गर्न सकेकी छन् न गर्भको बच्चाको नै । पहिलो पटक गर्भवती भएकाले उनलाई आमा र गर्भको बच्चाको कसरी हेरचाह गर्ने थाहा छैन ।

त्यस्तै बाह्रदशी १ कै २४ वर्षिया दिया राजवंशी पनि पहिलो पटक गर्भवती भएकी हुन् । उनको कोखमा पनि ८ महिनाकै गर्भ छ । उनलाई पनि गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरुको बारेमा त्यति जानकारी छैन । यसरी गर्भवती आमा र गर्भको शिशुको हेरचाहका बारेमा थाहा नहुने वडाभरिका गर्भवती महिलाहरुलाई बाह्रदशी १ नं वडा कार्यालयले भेला गरी भरणपोषण तथा स्वास्थ्य अभिमुखीकरण गराएको छ । कार्यक्रममा ४ महिना गर्भमाथिका ४२ जना गर्भवती महिला सहभागी थिए । उनीहरुलाई भरणपोषणका लागि पौष्टिक खानेकुरा खान दिइएको थियो । बिहान चना मुरै जुलपी चियानास्ता खुवाएर शुरु गरिएको कार्यक्रममा त्यसपछि खीर र फलफूल खान दिइयो । अनि कार्यक्रम सकिसकेपछि मासु , माछा लगायतका परिकारसहितको खाना खुवाएर उनीहरुलाई विदाइ गरिएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए ।

वडा कार्यालयले यसरी पहिलो पटक गर्भवती महिलालाई पौष्टिक खानेकुरा खुवाउने र स्वास्थ्यका बारेमा जानकारी दिने कार्यक्रम राखेकोमा अत्यन्त खुशी लागेको सहभागी दिया राजवंशीले बताइन् । उनले पौष्टिक आहारसँगै गर्भवती महिलाहरुलाई जनचेतना आबश्यक भएको जोड दिइन् । ‘ यस किसिमको कार्यक्रम निरन्तर गरिनु पर्छ’ उनले भनिन्,‘ एक पटकको कार्यक्रमले मात्र पुग्दैन ।’ मातृशिशुको लागि अत्यन्त आबश्यक ठानेर आफूहरुले सो कार्यक्रम आयोजना गरेको वडाध्यक्ष राजवंशीले बताए ।

बाह्रदशी १ मा राजवंशी , सन्थाल , मुस्लिम , माझीलगायतका जातिको अधिक बसोबास रहेको छ । त्यस समुदायमा मातृशिशु स्वास्थ्य शिक्षा जरुरी भएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले स्थानीय तहले भौतिक पूर्वाधारको विकासलाई मात्र ध्यान नदिएर महिला स्वास्थ्यको क्षेत्रमा पनि कार्यक्रम गर्न आबश्यक रहेको जोड दिइन् । उनले गर्भ रहेदेखि नै आमाको खानपान , उठबसमा ध्यान नदिँदा नै मातृ मृत्युदर बढ्दो रहेको बताइन् । बाह्रदशी गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि १५ सय रुपैयाँ उपलब्ध गराउने गरेको छ । कार्यक्रममा बाह्रदशी गाउँपालिकाका स्वास्थ्य शाखाका राम यादव र स्वास्थ्यकर्मी चन्द्रकुमारी राईले मातृशिशु स्वास्थ्यका विविध पक्षबारे जानकारी दिएका थिए । बाह्रदशी १ को ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा वडाका अन्य जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्