कुमरखोद , पुष १७ । प्रदेश नं. १ मा पहिलो पटक झापामा किसानलाई परिचयपत्र वितरण गर्न थालिएको छ ।

जिल्लाको झापा गाउँपालिकामा पहिलो पटक किसानलाई बिक्रेतामार्फत परिचयपत्र वितरण गर्न थालिएको हो । वास्तविक किसानलाई पहिचान गरी परिचित गराउन आफ्नो संस्थामार्फत किसानहरुलाई परिचयपत्र दिन थालिएको एग्रिसेन्टर झापा प्रालिका संचालक चन्द्र बस्नेतले बताए । परिचयपत्र दिएपछि वास्तविक किसानको पहिचान भई आफ्ना ग्राहकलाई चिनेर मल , बीउविजनको सुविधा दिन सजिलो हुने उनले बताए । हिजोबाट शुरु गरी २० जनालाई परिचयपत्र वितरण गरिएको संचालक बस्नेतले जानकारी दिए । नेपाली नागरिकता प्रमाणपत्र , धनीपूर्जा , कृषिमा आत्मनिर्भरता भएको , फौजदारी अभियोग नलागेको , विद्युत मिटर जडान गरी स्थायी बसोबास गरेको , जग्गा बाँझो नराख्ने प्रतिबद्धता ब्यक्त भएको मेहनती र परिश्रमी किसानलाई सो परिचयपत्र दिने गरिएको उनले जानकारी दिए ।

त्यसैगरी अबको एक महिनापछि किसान क्रेडिट कार्डको शुरुवात पनि झापा गाउँपालिकाबाटै गरिने उनले जानकारी दिए ।झापा गाउँपालिकाले मल र बीउविजनका लागि निश्चित वडा र टोलका लागि निश्चित डिलर तोकेको छ । डिलरले आफ्ना किसानलाई यसरी परिचयपत्र वितरण गरिसकेपछि गैरकिसान वा बाहिरका किसानले सेवासुविधा उपभोग गर्न नपाउने भएकाले पहिलो पटक किसान परिचयपत्रको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । उनले परिचयपत्र हुँदा पटकैपिच्छे मल बीऊ लिन आउँदा धनीपूर्जा देखाउन नपर्नेगरी किसानलाई सजिलो हुने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्