सपना आचार्य,
माई ईलाम , पुष १८ । ईलामको माई नगरभित्रका सबै नेकपाका तर्फबाट निर्बाचित जनप्रतिनिधिहरुले विभाजित नभएको घोषणा गरेका छन।

नेकपा माई नगरपालिका संसदीय दलका नेता तथा माईका मेयर दिपककुमार थेवेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उप–प्रमुख चित्रकला बराइलीको प्रमुख आतिथ्यमा भएको भेलामा संसदीय दलका सम्पूर्ण सदस्यहरुले केन्द्रमा जेजस्तो भएपनि माई नगरपालिका नेकपा संसदीय दलका कोही पनि विचलित नहुने र सबै एक ढिक्का भएर संस्थापन पक्षलाई सहयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरेका छन ।
संसदीय दलका नेता थेवेले “भाइ फुटे गवार लुटे“ हुन नदिन माई नगरपालिका संसदीय दलका सदस्यहरूलाई एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । नेता थेवेले माई नगरपालिकालाई अझै पनि कम्युनिष्टहरूको लाल किल्ला बनाउन सबै कम्युनिष्टहरू एक हुनुको बिकल्प नरहेको धारणा राखे । भेलाले नेकपा माइ नगर कमिटीलाई पनि एक हुन आग्रह गरेको छ ।
बैठकमा संसदीय दलका उपनेता बिष्णुमाया आचार्य, जिल्ला समन्वय समितिका सदस्य रत्नबहादुर अधिकारीलगायतको सहभागिता रहेको थियो । बैठकको निश्कर्षमा सबै सदस्यहरुले एक ढिक्का भएर चुनौतीको सामना गर्दै पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिवद्धता गरेका थिए ।
संसदीय दलको बैठक सकिएलगत्तै शुक्रबार नै पार्टीको बैठक बसी पुष २० गते वृहत कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । भेलामा १ नम्बर प्रदेश भूमिसुधार, कृषि तथा सहकारी राज्यमन्त्री तथा नेकपाका केन्द्रिय सदस्य एवम् इलाम जिल्ला अध्यक्ष राम राना लगायत केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने ईलामका अन्य नेताहरुलाई निमन्त्रणा गर्ने निर्णय भएको बताईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्