भद्रपुर , पुष १८ । झापाको भद्रपुरस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाले आव ०७६–०७७ को वार्षिक प्रतिवेदन शनिबार सार्वजनिक गरेको छ । योसँगै संस्थाको जारी साधारणसभा पनि सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा संस्थाका सञ्चालक, सेवा केन्द्रका सञ्चालक र कर्मचारीको उपस्थिति थियो । संस्थाले यसअघि नै प्रतिवेदन सेवाकेन्द्रमार्फत सदस्यको हात–हातमा पुर्याइसकेको र राय–सुझाव संकलन गरिसकेको अध्यक्ष पौडेलले जानकारी दिए ।

संस्थाका सचिव तीर्थराज ओझाले सञ्चालन गरेको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार संस्थाले आ. व. ०७६–०७७ मा ३ लाख ४१ हजार ७३९ रुपैयाँ खुद मुनाफा गरेको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्थाले अघिल्लो वर्षको तुलनामा दोब्बर नाफा कमाउन सफल भएको छ । प्रतिवेदन अनुसार संस्थाको कुल शेयरपूँजी ९२ लाख ६४ हजार ५०० रुपैयाँ पुगेको छ भने ०७६–०७७ मा ३ करोड ८८ लाख ७० हजार ५११ रुपैयाँ निक्षेप संकलन र ३ करोड ७३ लाख ११ हजार २०४ रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा शेयरपूँजी, निक्षप संकलन र लगानी पनि उल्लेख्य बढेको छ भने सदस्य संख्या बढेर २९४१ पुगेको छ ।

गरप्रमुख श्रेष्ठले कोरोनाको त्रासका बीच पनि समृद्धिले सन्तोषजनक कारोबार गरेको , सदस्यका वित्तीय तथा सामाजिक आवश्यकताहरु पूरा गरेको भन्दै संस्थाको प्रशंसा गरे । उनले उस्तै प्रकृतिका सहकारीबीच एकीकरणमा पनि जोड दिए ।
कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, नगरपालिकाका सहकारी अधिकृत डिल्ली ढकाललगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
अध्यक्ष पौडेलले कोरोना महामारीलाई समेत दृष्टिगत गरी ०७७–०७८ को कार्ययोजना बनाएको र समृद्धिले भद्रपुर १० को सनसाइन वचत तथा ऋण सहकारी संस्थासँग एकीकरणको प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्