दमक, पुष १८ । बजारमा भोला गुट्खाको अभावसंगै कालोवजारी हुन थालेको छ । पर्याप्त मात्रामा भोला गुट्खा पाउन छोडेसंगै यसको वजार मूल्य दमकसहित जिल्लाभित्र एक्कासी आकासिएको छ ।

दमकका थोक विक्रेताहरुले प्रतिप्याकेट रु २७० मूल्य पर्ने भोला अहिले ३८० रुपैयाँसम्म बेच्न थालेका छन् । शनिबार दमकका ठूला किराना पसलमा भोला नभएको भन्दै खरिद नै महँगो भएको र बढी मूल्यमा बिक्री गर्न बाध्य हुनुपरेको दमक ८ स्थित एक किराना पसलका सञ्चालकले वताए ।
कमल ५ का देवेन्द्र लिम्बूले दमक ८ स्थित ललन किराना पसलमा भोला किन्दा प्रतिप्याकेट रु ३८० मा किनेको बताए । सधै रु २७० मा पाईने भोला शनिबार भने प्रतिप्याकेट रु ११० महँगो मूल्यमा खरिद गर्नुपरेको उनले गुनासो गरे । भोला नभएपछि महँगो नै खरिद गरी वेच्न थालेको उनले सुनाए ।

बजारमा भोला अभाव भएको भन्दै एक सातादेखि यहाँका व्यापारीले चर्को मूल्यमा भोलाको खुलमखुल्ला कारोवार गर्दै आएका छन् । साना व्यापारीले भने भोला खरिदमा महँंगो भएपछि भोलाको उपभोक्ता मूल्यमा समेत बृद्धि गर्न बाध्य भएका छन् ।
दमक ८ का एक थोक किराना पसलका सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने, –‘ भोला आयात गर्ने डिष्ट्रीव्यूटर्सबाट नै भोला आउन छाडेपछि यसको वजार मूल्य आफूखुसी बृद्धि भएको हो ’

उपभोक्ता हित संरक्षण मञ्च दमकका सचिव गोपाल झापाली कसैले पनि कृत्रिम अभाव सृजना गराएर उपभोग्य वस्तुमा कालोवजारी गर्न नपाईने वताउँछन् । भोला गुट्खामा वजार मूल्य एकाएक बृद्धि हुनु कालोबजारी भएको भन्दै उनले भने, –‘ क्षणिक नाफाका हिसावले मात्र आफूखुसी वजार भाउ वढाउनु हुँदैन, यस्तो गरिए कारवाहीको भागिदार वन्नुपर्छ ’
सूर्तिजन्य पारखीका अनुसार भोला देशकै लोकप्रिय ब्राण्ड हो । अन्य सूर्तिजन्य गुट्खा वजारमा आएपनि भोला गुट्खाको वजार दिनानुदिन बढ्दै गएको छ ।
भोला वुटवलस्थित श्रीराम टोवाको उद्योगको उत्पादन हो । यस उद्योगले आफ्ना उत्पादन देशभरि नै पठाउदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्