बिर्तामोड, पुष २० । नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता स्वर्गीय तुर्सा हेमरमको २४ औं स्मृति दिवस सोमबार सम्पन्न भएको छ ।

कनकाई नगरपालिका कार्यालयनजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा स्मृति समारोह आयोजना गरी उनको राजनीतिक योगदान र जीवनीबारे चर्चा–परिचर्चा गरिएको हो । प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले साधा जीवन उच्च विचार भएका हेमरमले वी.पी.कोइरालाको अत्यन्तै निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे ।

सन्थाल समुदायमा जन्मिएर हुकेका हेमरमले वी.पी. र नेपाली कांग्रेस झापाका पूर्व सभापति समाजवादी चिन्तक सि.के. प्रसाईका अत्यन्तै निकट रहेर राजनीति गरेको स्मरण गर्दै उनी प्रजातन्त्रप्रति निष्ठावान रहेको थापाले स्मरण गरे ।
झापाका पूर्व उपसभापतिसमेत रहेका हेमरम वी.पी.का अन्त्यन्तै विश्वासपात्रमध्येका एक मानिने चर्चा गर्दै सभापति थापाले भने–‘वी.पी.ले सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्गको सहभागिता पार्टीमा गराउनुभएको थियो । समावेशी सहभागिताको अनुपम नमूना वी.पी.को पालादेखि कांग्रेसमा थियो । अहिले पनि छ ।’

प्रजातान्त्रिक योद्धा तथा हेमरमका समकालीन नेता सुरेश बास्केले हेमरमको जीवनीबारे चर्चा गरेको कार्यक्रममा स्वागत प्रेममुनी मुर्मु र सञ्चालन शिव कँडेलले गरेका थिए ।
१९८० सालमा जन्मेका हेमरमको २०५४ साल पुष २० गते निधन भएको थियो । झापाको शरणामतिमा हेमरमको स्थायी बसोबास रहेको थियो । प्रजातन्त्र सेनानी सम्मानसमेत प्राप्त गरेका हेमरम अत्यन्तै सामान्य परिवारमा जन्मिएपनि राजनीतिक चेत, विचार र संगठन गर्ने कार्यमा सबल रहेको उनका समकालीन नेताहरु बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्