सपना आचार्य,
माई । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को प्रचण्ड–नेपाल समूहमा गएका नेता झलनाथ खनालको क्षेत्रमा प्रधानमन्त्री केपी ओली समर्थकहरुले बृहत भेला गरेका छन् ।

भेलामा नेकपाका इलाम अध्यक्ष तथा प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले सबै कम्युनिष्टलाई एक हुन आग्रह गरे । नेकपा माई नगर कमिटी इलामले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रानाले आर्थिक विकास, सुखी नेपाली ,समृद्ध नेपाल र सामाजिक सुरक्षासहितको बृहत कम्युनिष्ट पार्टी बनाउन केपी शर्मा ओलीको पक्षमा रहन सबै कार्यकर्ताहरुलाई आग्रह गरे । मन्त्री रानाले प्रचन्ड–नेपाल समुह ब्यक्तिवादी स्वार्थमा लागेकाले निजी स्वार्थ, भ्रष्टाचार, कुशासन र अनियमितताको पक्षमा जनताले दुःख पाउने धारणा राखे । मन्त्री रानाले राजनीति खुला समाज भएकाले पार्टी कमिटी, स्थानीय, प्रदेश र संघीय सरकारको नजिक रहेर काम गर्न कार्यकर्तालाई सुझाव दिए ।

अर्का वक्ता नेकपा केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य प्रेम गिरीले केपी ओली सरकार ६ वटा कार्यको लागि मुख्य उपलब्धीतर्फ लागेकाले जनताले साथ दिने दावी गरे । उनले स्थायी शान्ति, स्थानीय तह मजबुत, सन्तुलित सम्बन्ध, मजबुत अर्थतन्त्र, सुशासन तथा विकास र सम्बृद्धिको बाटोमा सरकार लाग्दा घेराबन्दी परेको दावी गरे ।
प्रदेशसभा साँसद काजीमान कागतेले घेराबन्दीमा परेको सरकारले जनतामा जाने निर्णय गरेर सही गरेको दावी गरे । प्रचन्ड–नेपाल समुहलाई संकेत गर्दै कागतेले भ्रष्टाचारीलाई अख्तियारले कार्बाही गर्ने दिन आएकाले सो समूह सडकमा गई चिच्याउन थालेको धारणा राखे ।
माईका सयांै कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समितका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य गणेश बरालले जनतालाई सम्बृद्धि र सुखी राख्न पार्टी एकता गरिएको भए पनि सरकारलाई बारम्बार असहयोग भएकाले सरकार निर्वाचनमा जान बाध्य भएको दावी गरे । बरालले माईका जनप्रतिनिधि र पार्टी कमिटी असल नेतृत्वको पक्षमा रहेकोमा आगामी निर्वाचनमा विजयी हुने दावीसमेत गरे ।

जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव नवराज शंकरले केही नेताको पेशा नै पार्टी फुटाउने रहेको भन्दै कुहिएको आलुलाई बोराबाट निकाल्नु उत्तम हुने धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता गरेका माईका मेयर दिपककुमार थेबेले रानो महुरी जता गएपनि घर नछोड्ने प्रतिबद्धता गरे । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई संकेत गर्दै थेबेले रानो माहुरी केही ज्यामी मौरीसहित घार छोडेर हिडेकाले चाँडै घारमा फर्कने दाबी गरे । नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका थेबेले ७२ प्रतिशत ऐलानी जग्गामा आगामी जेठ सम्ममा धनीपूर्जा प्रदान गर्न सरकारको काममा सहयोग गर्न सबै माईबासीमा आग्रह गरेका थिए । माई नगरपालिकामा बाटो, बिद्युत, खानेपानीको काम भईरहेको बताँउदै मेयर थेबेले सबै माईबासी एक भएमा चाँडो सफलता पाउने दावी गरे । माई नगरबासी निर्णायक भएको भन्दै आगामी स्थानीय र प्रदेशसभाको निर्वाचनमा विजयी रहने समेत दावी गरे । रानो मौरी आगामी निर्वाचनमा पराजीत भएपछि ज्यामी मौरी घार खोज्दै आउने दावी थेबेले गरेका थिए ।जिल्ला कमिटी सदस्य तथा माईका उपमेयर बिष्णुमाया आचार्य, जिल्ला कमिटी सदस्य रत्नबहादुर अधिकारी, नगर खेलकुद समितिका अध्यक्ष अनिल तामाङ, युवा संघ नेपाल माईका अध्यक्ष कुमार लिम्बु, नेकपा माईका सचिब हेमबहादुर लायो मगरलगायतले मन्तब्य राखेको कार्यक्रमको सञ्चालन नेकपाका मेघनाथ गिरीले गरेका थिए । अगुवा कार्यकर्ता भेलामा माईका टोलटोलबाट सयौ कार्यकर्ता, शुभेच्छुक र सर्मथकको सहभागिता रहेको अखिलका जिल्ला सदस्य गोपाल आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्