झापा , पुष २१ । झापाका केही जनप्रतिनिधिहरुले सहकारी ऐन र नियमावलीविपरित आफैले सहकारी संस्था संचालन गर्दै आएका छन् ।

आत्मनिर्भर सहकारीको कार्यक्रममा उपप्रमुख प्रसाई

संघीय संसद , प्रदेशसभा , जिल्लासभा , गाउँसभा वा नगरसभामा निर्वाचित वा मनोनित भई पदमा बहाल रहेको व्यक्ति सहकारी संस्थाको संचालक समिति वा लेखा समितिमा निर्वाचित वा मनोनित हुन नपाउने सहकारी ऐनमा उल्लेख छ । तर झापाका जनप्रतिनिधिहरुले सहकारी संस्थाको संचालक समितिमा मात्र बसेका छैनन् ,सहकारी ऐनलाई धज्जी उडाउँदै स्वयं आफैले सहकारी संचालन गर्दै आएका छन् । पदमा रहेको जनप्रतिनिधि सहकारी संस्थाको संचालक समिति वा लेखा समितिमा निर्वाचित वा मनोनित भएमा तीन महिनाभित्र आफ्नो पदबाट राजीनामा दिनुपर्ने ऐनमा उल्लेख छ । तर, जिल्लाका ती जनप्रतिनिधिहरुले त्यस ऐनको कुनै पर्वाह गरेका छैनन् । संचालक भएर वर्षौदेखि उनीहरुले विनाहिच्किचाहट सहकारी संस्था चलाउँदै आएका छन् ।
बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् । बिर्तामोडमा रहेको सो सहकारी संस्थाले करिव एक साताअघि नवौं साधारणसभा सम्पन्न गरेको छ । उपप्रमुख प्रसाईले सहकारीको अध्यक्ष भएर चलाएको निकै भयो ।

उत्सव सहकारीको कार्यक्रममा अध्यक्ष शाह

त्यस्तै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह उत्सव कृषि सहकारी संस्थाका अध्यक्ष हुन् । सो सहकारी संस्था झापा गाउँपालिका वडा नं २ मा रहेको छ । त्यस सहकारीले दश दिनअघि छैंठो वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उनीहरु प्रतिनिधि पात्र मात्र हुन् । झापाका अन्य जनप्रतिनिधिहरु पनि विभिन्न सहकारी संस्थाको संचालक समिति र लेखा समितिमा बसेर काम गर्दै आएका छन् । सहकारी ऐनमा जनप्रतिनिधिसँगै शिक्षक र सहकारी कर्मचारीहरुले पनि सहकारीको संचालक समितिमा बस्न नपाउने प्रावधान रहेको छ । तर, त्यसलाई धेरैले मिचेका छन् । स्थानीय तह चलाउने व्यक्तिले अरुलाई ऐन कानून पालना गर्न लगाउनु पर्नेमा आफैले उल्लंघन गरिरहेको झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल बताउँछन् । उनले जनप्रतिनिधिहरुले सहकारीको संचालक समितिमा बस्ने नहुने भन्दै बसिसकेपछि सार्वजनिक पद तीन महिनाभित्र छोड्नु पर्नेमा अहिलेसम्म कसैले नछोडेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्