इलाम, पुष २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले इलाममा १ सय ९९ सदस्यीय जिल्ला कमिटी बनाएको छ ।

साविक जिल्ला कमिटीबाट ६४ जनाले पार्टी छाडेर अर्को समुहमा गएपछि रिक्त रहेको पदमा मनोनयन गरेर १ सय ९९ सदस्यीय बनाइएको ओली समुहका अध्यक्ष रामबहादुर मगरले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । नेकपा ओली समुहको तेस्रो बैठक सोमबार र मंगलबार बसेको थियो । विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको कार्यालय सचिव नवराज शंकरले जानकारी दिए ।

जिल्ला बैठकले रामबहादुर मगर अध्यक्ष रहेको कार्यालय टिम बनाएको छ ।जसको सदस्यहरुमा महेश बस्नेत, गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई, शोभा पराजुली, तारा गुरुङ, उमेश गुरुङ, कृष्णप्रसाद श्रेष्ठ रहेका छन् । त्यसैगरी नवराज शंकर, ओमनारायण खनाल, चित्रकला बराईली, देवेन्द्र विश्वकर्मा,सूर्य पोख्रेल र दिपेन्द्र खनाल सदस्य रहको १५ सदस्यीय जिल्ला कार्यालय गठन गरेको जनाइएको छ ।पार्टीको जिल्ला सचिव सोममाया राई ‘सिन्धु’ पार्टी छाडेर अर्को राजनीतिक समुहमा गएपछि रिक्त पदमा तत्काल कामकारवाहीको लागि कार्यालय सचिव नवराज शंकरलाई दिने समेत निर्णय भएको जनाइएको छ । उपयुक्त मापदण्ड बनाएर जिल्ला कार्यालयको कार्यविभाजन, सचिवालयको पूर्णता र कार्यविभाजन, जिल्ला कमिटीको कार्यविभाजन, नगर तथा गाउँ कमिटीहरुको आवश्यक कार्यविभाजनसहितको निर्णयका साथै पार्टीको राजनीतिक तथा सांगठनिक कार्ययोजना आगामी २७ गते बस्ने जिल्ला कार्यालयको बैठकले तय गर्ने कार्यालय सचिव शंकरले जानकारी दिए ।

बैठकले केपी शर्मा ओलीलाई चौतर्फी रुपमा घेराबन्दीमा पार्दै आफ्नो पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका कारण जुन किसिमको समस्या उत्पन्न गरेर पार्टी फुटाउनेसम्म भएको काम निन्दनीय भएको जनाएको छ । विशिष्ट परिस्थितिमा पार्टीलाई थप मजबुद र एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी आएकाले स्वाधिन, अखण्ड, सार्वभौम मुलुकको रुपमा राष्ट्रिय एकता कायम गर्दै विकास र समृद्धिको दिशामा अघि बढाउनका सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्न अनुरोध गरिएको छ ।
जिल्ला समन्वय समितिको हलमा पार्टीका केन्द्रीय सदस्य, इलाम जिल्ला अध्यक्ष एवम् प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्यहरु महेश बस्नेत, गणेशप्रसाद बराल, जयप्रकाश राई, नरेन्द्रनाथ भट्टराई, पदम भण्डारी, शोभा पराजुली, तारा गुरुङ र काजिमान कागतेको बिशेष उपस्थितिमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्