दमक पुष २४ ।दमक नगरपालिकामा हात्तीपाईले रोगबिरुद्धको औषधिको प्रभावकारीताका बारेमा सेम्पल परीक्षण हुने भएको छ ।

सन् २०३० सम्ममा हात्तीपाईले रोगलाई विश्वबाट उन्मूलन गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको कार्यक्रमहरुको प्रभावकारीताको बारेमा दमक वडा नम्बर १ मा सेम्पल परीक्षण हुने भएको हो । जिल्लाको दमक नगरपालिकासहित कुमरखोद गाउँपालिकामा पनि सेम्पल परीक्षण गर्न लागिएको हो । दमक नगरपालिका वडा नम्बर १ का ३ सय जना र कुमरखोद गाउँपालिकाका ३ सय जना गरी ६ सय जनाको परीक्षण गरी हात्तीपाईले रोगको अवस्थाका बारेमा जानकारी लिईने शुक्रबार दमक नगरपालिकामा आयोजित छलफल कार्यक्रममा जानकारी दिईयो ।

नगरपालिकाका कार्यबाहक नगर प्रमुख भीम पौडेलको अध्यक्षतामा भएको छलफलमा हात्तीपाईले रोग उन्मूलनको लागि सञ्चालित औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नागरिकहरुलाई सचेतना जगाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नागरिक सचेतनामा कमी हुँदा यसअघि झापामा सञ्चालन गरिएको औषधि सेवन कार्यक्रम दुई पटक असफल भैसकेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईंले आगामी १० बर्षमा विश्वबाट हात्तीपाईले रोग उन्मूलन गर्ने लक्ष्यअनुसार यस पटकको औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
हात्तीपाईले रोग उन्मूलनका लागि झापाको दमक र कुमरखोदमा सेम्पलीङ परीक्षण हुने भएकोले यसबाट आउने नतिजाले आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमको ढाँचा बनाउन सहयोग मिल्ने किटजन्य रोग नियन्त्रण कार्यालय हेटौंडाका भेक्टर कन्ट्रोल निरीक्षक कुमारप्रसाद पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्