भद्रपुर, पुष २६ । विदाइ भएर जान लागेका झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलव्धिहरुलाई सार्वजनिक गरेका छन्

।जिल्ला प्रहरी कार्यालय झापामा आज विहान पत्रकारहरुसँगको अन्तरक्रियामा उनले गत वर्षको पुष ९ देखि यस वर्षको पुष २५ सम्मका गतिविधिहरुको विवरण सार्वजनिक गरेका हुन् । उनी गत वर्षको पुष ५ गते जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न आइपुगेका थिए ।

उनको कार्यकालमा अपराध अनुसन्धान र नियन्त्रणमा प्रहरीलाई ठूलो सफलता मिलेको देखिएको छ । कर्तव्य ज्यान लिएर १४ वर्षदेखि फरार रहेका मेचीनगर ५ का बौदल लाम्गादे विक भन्ने पुन्यप्रसाद विश्वकर्मा पक्राउ परेका छन् भने कर्तव्य ज्यान मुद्धामा १७ वर्षदेखि फरार दुर्गाबहादुर थापा पनि पक्राउ परेका छन् । त्यस्तै चारपानेमा गुप्ताङ्ग काटेर आगो लगाई एकजना पुरुषको जघन्य हत्या गर्ने करण चौधरी र लक्ष्मण यादव पक्राउ परेको , शिवसताक्षी ११ बस्ने गोमनसिंह मगरलाई हत्या गर्ने मनकुमार लिम्बू पक्राउ परेको ,कन्काई ३ बस्ने अभिषेक चौधरीलाई बन्चरो हानी हत्या गर्ने टुल्के भन्ने रविन राजवंशी पक्राउ परेको ,आफ्नी श्रीमतीलाई हत्या गर्ने गौरादहका भीमबहादुर भण्डारी पक्राउ परेको , बैकिङ्ग कसुरमा २ महिना कैद र १ करोड १५ लाख विगो ठहरिएका कनकाई ३ बस्ने राजेन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेको , लाखौं ठगी गर्ने राजकुमार राउतलाई पक्राउ गरेको घटनालाई महत्वपूर्ण सफलताको रुपमा लिएको उनले बताए । फैसला कार्यान्वयनतर्फ आर्थिक वर्ष २०७६–०७७ को पुषदेखि हालसम्म ९९ जना पक्राउ परेको , १२२ वर्ष १ महिना २३ दिन कैद र १ करोड ७८ लाख ३७ हजार ८१५ रुपैयाँ जरिवाना असुल भएको छ ।

प्रहरी उपरीक्षक कोइरालाले आफ्नो एक वर्षको कार्यकालमा भन्सार छली , चोरी तस्करी नियन्त्रणको क्षेत्रमा पनि उल्लेखनीय कार्य भएको भन्दै बरामद भएका सामानहरुबाट ५ करोड ६३ लाख १३ हजार ५४२ रुपैयाँ राजश्व दाखिला भएको बताए ।उनले चाडपर्वको समयमा २१ लाख ५० हजार ४४० रुपैयाँ बराबरको पटका, आतिशवाजीलगायतका विष्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको जानकारी दिए । त्यस्तै ट्राफिक व्यवस्थापनतर्फ ट्राफिक सचेतना , होर्डिङ बोर्ड , सांकेतिक चिन्ह , जेब्रा क्रसिङ निर्माणजस्ता कार्यक्रम गरिएको भन्दै ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट ३ करोड ५१ लाख ९८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जानकारी दिए । त्यसैगरी प्राकृतिक स्रोतसाधन दोहन नियन्त्रण , अवैध काठ नियन्त्रणतर्फ पनि धेरै काम भएको देखिएको छ । प्रहरी उपरीक्षक कोइराला झापाबाट सरुवा भएर महानगरीय अपराध महाशाखा काठमाडौं जान लागेका हुन् । उनले सबैको सहयोग र सहकार्यमा प्रहरीले अपराध नियन्त्रण गर्नसक्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्