बिर्तामोड , पुष २६ । देशभर सहकारी संस्थाहरु एकीकरण हुने क्रम बढेसँगै झापाका चार सहकारी संस्था एक ठाउँमा गाभिएका छन् ।

बिर्तामोड–१० सैनिकबजारस्थित विशाल कृषि सहकारी संस्था, बसन्त वचत तथा ऋण सहकारी संस्था, हल्दिबारी गाउँपालिका –१ गोलधापस्थित निलकण्ठ समृद्धि बहुउद्देश्यीय सहकारी संस्था र अर्जुनधारा नगरपालिका –२ स्थित शितला कृषि सहकारी संस्थाबीच एकीकरण भएको हो । केही समय अघिदेखि चारवटा सहकारी संस्थाबीच एकीकरण भई विशाल कृषि सहकारी संस्था बिर्तामोड –१० को नामबाट कारोबार शुरु गरिएको थियो ।
यसैबीच एकीकृत भएको विशाल कृषि सहकारी संस्थाको अध्यक्षमा देवेन्द्र गौतम चयन भएका छन् । संस्थाको सातौं वार्षिक साधारणसभा तथा एकीकृत संयुक्त साधारणसभाले गौतमलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपनारायण मुखिया, सचिव पृथ्वी बस्नेत र कोषाध्यक्षमा सन्तोषकुमार राई रहेका छन् ।
त्यस्तै सदस्यहरुमा दुर्गा लम्साल, छविकला गुरुङ, कमला गौतम, तुलाराम न्यौपाने, महेन्द्रप्रसाद पोखरेल, विशाल शिवाकोटी र खेमराज राई रहेका छन् । सोही साधारणसभाको बन्दसत्रले डिल्लीराज भण्डारी संयोजक तथा शान्ति गुरुङ र तारा कार्की सदस्य रहेको लेखा सुपरिवेक्षण समितिसमेत चयन गरेको छ ।
संस्थाको नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयनका लागि भोलानाथ पौड्याल संयोजक तथा मनु मुखिया र कृष्ण पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । संस्थाका अध्यक्ष देवेन्द्र गौतमको अध्यक्षता तथा बिर्तामोड १० का वडाध्यक्ष वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष रुपनारायण मुखियाले गरेका थिए । कार्यक्रममा बिर्तामोड नगर कार्यपालिका सदस्य गीता पोखरेल, सल्लाहकार मनु मुखिया,समाजसेवी विशाल शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष गौतमले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
एकीकरणपछि संस्थाको शेयर सदस्य दुई हजार एक सय ८८ जना , शेयर पुँजी एक करोड ३५ लाख ८८ हजार ८ सय रुपैयाँ, निक्षेप तीन करोड १० लाख ४५ हजार सात सय २० रुपैयाँ, कर्जा लगानी पाँच करोड ८२ लाख ७२ हजार १५ रुपैयाँ, नाफा तीन लाख ८८हजार नौ सय ६२ रुपैयाँ पुगेको छ ।
आइपिएम पाठशाला, रासायनिक मल, बीउविजन बिक्री वितरण सहजरुपमा उपलव्ध गराउँदै आएको संस्थाले दुईवटा सेवाकेन्द्र खोल्ने तयारी गरेको जनाएको छ।
कार्यक्रममा संस्थाका अवकाशप्राप्त कर्मचारी(एकीकरणअघि बसन्त सहकारीका पूर्व व्यवस्थापक) शान्ति गुरुङलाई नगद ५० हजारसहित विशेष सम्मान गर्नुका साथै सहकारी अभियानमा योगदान पुर्याउने व्यक्तित्व पूर्व पदाधिकारी तथा उत्कृष्ट एवम् जेष्ठ सदस्यलाई प्रमाणपत्रसहित सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा लेखा समिति संयोजक डिल्लीराज भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव पृथ्वी बस्नेतले गरेको व्यवस्थापक हेमराज खनालले जानकारी दिएका छन् ।