झापा, पुष २९ । सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । पूर्वपश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री सडकमा सञ्चालन हुने सवारी साधनहरुको नियमन गर्न ट्राफिक प्रहरी चौबिसै घन्टा सडकमा आएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालयको सहयोगमा ट्राफिक नियम तथा सवारीसम्बन्धी सचेतनामुलक कार्यक्रम अघि सारेको छ । केहि दिनयता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधारण अंगभंग भई कतिपयको ज्यानसमेत गएकोले सवारी साधन चेकिङ्गमा तिव्रता दिईएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडकमा दुर्घटना न्यूनीकरण गर्न बैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । उनले भने, ‘यसअघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने बैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो ।’
जिल्लाभित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरुलाई सचेतना, साईकल तथा ट्याक्टरमा परैबाट देखिनेगरीको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोषीलाई कार्वाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी निरीक्षक जवेगुले बताए ।

बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरित दिशाका दुई यातायातका साधनका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा अत्यधिक दुर्घटना बढेको कार्यालयका ट्राफिक प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले बताए । पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने राता बसको लापर्बाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याई छ ।
तर, तीन पाङ्गग्रे, मोटरसाईकल र मालवाहक ट्रकका चालकका अनुसार राजमार्गमा अरुको जिन्दगीको सरोकार नराखी तीव्र गतिमा चल्ने राता बसको कारण दुर्घटना बढेको हो । ‘दश रुपैयाँका लागि यात्र्ु बोक्न राता बसले घ्याच्च बे्रक गर्दा पछाडी आउने यातायातका साधन दुर्घटनाको शिकार बन्नु परेको हो,’ अटो रिक्सा चालक शिवलाल शिवाकोटीले भने, राता बसका चालकले अरुको जिन्दगीलाई रत्तिभर गन्दैनन् । मनिष दर्जी मे १ ख ३०६४ नम्बरको यात्रुवाहक बसका चालक हुन् । उनले टाटाको मार्कोपोलो बसका चालकले लापर्बाही ढंगले सवारी चलाउने गरेको आरोप लगाए । आफू अशोक लेलेण्ड गाडीको चालक भएको बताउँदै उनले भने ‘मेरो गाडी त कुद्दै कुदैन मार्कोपोलोको त राजमार्गमा जताततै दादागिरी नै छ ।’
मे १ ख ७४८१ का चालक टंकप्रसाद सुवेदीले बसस्टेण्ड बाहिरबाट यात्रु नउठाए रोजिरोटी नै नचल्ने बताए । उनले रहरले होइन कहरले अगाडी पछाडिको दुरी हेरेर राजमार्गका गैर बसस्टेण्डबाट यात्रु उठाउने गरेको स्वीकार गरे । टाईमकार्ड अनिवार्य लागु गरे चालकलाई कुनै हतारो नहुने उनको भनाई छ । ‘साहु खुसी भए घरका बालबच्चा पनि खुसी हुन्छन,’ उनले भने, ‘साहुलाई खुसी बनाउन गाडीको गति बढाएर यात्रु नउठाएर अर्को गाडीले उठाईदिन्छ । त्यसो नगरे भरे के खाने भन्ने पिर हुन्छ ।’

ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट पर्मिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादरभन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागु पदार्थ सेवन नगर्न र क्षमताभन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिँदै आएको छ ।
झापामा पुषमा मात्र ९७ वटा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर १७ जनाको मृत्यु भयो । यो अन्य महिनाको भन्दा धेरै हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर ४५ जना गम्भीर प्रकृतिको अंगभंग भए भने ७८ जना घाईते भए ।

एक महिनामा यतिको संख्यामा सवारी दुर्घटना हुँदा प्रहरीले एउटै कारण ठानेको छ मादक पदार्थ सेवन गरी सवारी चलाएको । ९७ वटा दुर्घटना झापामा हुँदा शिवसताक्षी नगरमा मात्रै १० वटा दुर्घटना भए । १० वटा दुर्घटना हुँदा ५ जनाको त ज्यान गयो । स्थानीय भन्छन– ट्राफिक प्रहरीले सवारी दुर्घटनासम्बन्धी चेतनामुलक काम गरिरहँदा पनि दुर्घटनाको संख्या भने घटेको छैन ।
एक महिनाको अवधिमा ट्राफिक प्रहरीले ५ हजार ८५ जना सवारीका चालकलाई कार्वाही गर्यो । नियमसंगत सवारी नचलाएको कारण उनीहरु प्रहरीको कार्वाहीमा परेका हुन् । यो अवधिमा झापा ट्राफिकले ३६लाख रुपैयाँ त राजश्व संकलन गर्यो । संकलित राजश्वमध्ये ट्राफिक प्रहरी पोष्ट झिलझिलेले मात्र ५ लाख ९७ हजार रुपैयाँ संकलन गरेको हो । प्रहरी सहायक निरिक्षक गणेश श्रेष्ठको नेतृत्वको टिमले जिल्लामै सबैभन्दा धेरै राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उक्त पोष्टले मात्र ९ सय ५० सवारीका चालकलाई कार्वाही गरेको छ । चालकलाई कार्वाही गरेपछि राजश्व संकलन पनि बढेको हो । साउनयता झापा ट्राफिकले मात्र लकडाउनका बेला पनि १ करोड राजश्व संकलन गरेको छ ।
ईलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी पोष्ट झिलझिलेले संयुक्तरुपमा मंगलबार स्टिकर नभएका यातायातका साधनलाई रिफ्लेक्सन स्टिकर टाँसिदियो । झापामा पहिलो पटक झिलझिले ट्राफिक प्रहरी पोष्टले यो अभियान सुरु गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्