बिर्तामोड, माघ ३ । वीरता लेडी जेसीजका नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ ।

त्यसक्रममा नवनिर्वाचित अध्यक्ष स्वस्तिका आचार्यले शनिबारदेखि नेतृत्व सम्हालेकी छन् । बिर्तामोडमा आयोजित विशेष समारोहका बीच अध्यक्ष स्वस्तिकाले नेतृत्व सम्हालेकी हुन् ।
स्वस्तिकालाई वीरता लेडी जेसीजमा आबद्ध भएको दश वर्षपछि नेतृत्व सम्हाल्ने अवसर जुरेको हो । सन् २०२० की अध्यक्ष सुष्मा भण्डारीले आफ्नो गलामा लगाएको जेसीज चेन पहिर्याउँदै नवनिर्वाचित अध्यक्ष स्वस्तिकालाई जिम्मेवारी हस्तान्तरण गरिन् ।
पद हस्तान्तरण समारोहमा बोल्दै अध्यक्ष सुष्माले कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न परिस्थितिका बीच पनि आफ्नो कार्यकाल सफल भएको बताइन् । पूर्वनिर्धारित कतिपय कार्यक्रम गर्न नसकिएको बताउँदै अध्यक्ष सुष्माले सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।
बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा वीरता लेडी जेसीजले पद हस्तान्तरण समारोह आयोजना गरेको थियो ।

कार्यक्रममा उत्कृष्ट महिला पत्रकारका रुपमा अन्नपूर्ण पोस्ट दैनिककी संवाददाता राधा खनाललाई सम्मान गरिएको थियो ।
महिला तथा बालबालिकाको क्षेत्रमा चासोपूर्वक कलम चलाउँदै आएकी पत्रकार राधाले जेसीज अभियानको प्रचारप्रसारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको वीरता लेडी जेसीज सन् २०२० की अध्यक्ष सुष्माले बताइन् । पद हस्तान्तरण समारोहमा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाललगायत पूर्वअध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव संगिता गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्