बिर्तामोड , माघ ४ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले सरकारले औद्योगिक वातावरण निर्माणको पहल गरी उद्योग व्यवसायको विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।
‘कोभिडको असरले लाखौं युवा रोजगारी गुमाएर धमाधम स्वदेश फर्किरहेका छन्’ सभाको उद्घाटन सत्रका प्रमुख अतिथि ढकालले भने–‘उनीहरुलाई आफ्नै देशमा टिकाउन रोजगारीको अवसर सिर्जना गर्न जरुरी छ ।’
सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका उपाध्यक्ष् समेत रहेका उनले पछिल्लोसमय कोभिडका कारण थलिएको निजी क्षेत्रले तंग्रिने प्रयास गर्दैगर्दा उत्पन्न राजनीतिक उतारचढावले थप मार खेप्नुपरेको बताए ।
‘निजी क्षेत्रका चुनौतीलाई बुझेर मात्र हुँदैन, हामीले अन्तर्राष्ट्रिय चुनौतीलाई समेत बुझ्न जरुरुी छ’ ढकालले भने–‘अब नीति निर्मातासँग घनिभूत रुपमा छलफल र बहस गरेर ठोस निष्कर्षमा पुग्न आवश्यक छ ।’
‘सरकारबाटै उद्योग वाणिज्य महासंघको अधिकार कुण्ठित भयो भन्ने बहस पनि छँदैछ’ ढकालले भने–‘यो बेला निजी क्षेत्रका अगुवाहरु एक ढिक्का हुनुपर्नेमा राजनीतिक रुपमा विभक्त हुँदा संकट थप चुलिएको छ, त्यसैले सचेततापूर्वक अघि बढ्नुको विकल्प छैन ।’
सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र कृषिजन्य उत्पादनमा जोड दिने नीति ल्याउनु सुखद हो भन्दै उनले गुणस्तरीय उत्पादन क्षमतामा वृद्धि गरी अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिष्पर्धा गर्ने वातावरण बनाउनुपर्ने धारणा व्यक्त गरे ।

‘उत्पादन क्षमतामा हाल ह्रास आएको छ, बजारमा हाम्रा उत्पादन छैनन्’ ढकालले भने– ‘देशले आन्तरिक उत्पादनको अभाव झेलिरहेको छ, तर सरकारको ध्यान राजश्व असुलीको प्रतिष्पर्धामा मात्र छ ।’
सभाको खुल्ला सत्रमा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, जिल्ला आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठ, नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, बिर्तामोड नगरका प्रवक्ता एवँ वडा नम्बर १ का अध्यक्ष अग्नी पाण्डे, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष एकराज गिरी, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभाको सन्दर्भ पारेर संघले उद्योग वाणिज्य महासंघ र संघ प्रदेश १ को हालै सम्पन्न अधिवेशनमा निर्वाचित झापाका निजी क्षेत्रका अगुवासहित निजी क्षेत्रको समाचार प्रकाशन÷प्रशारण गरी योगदान पुर्याएको भन्दै झापाका दुई सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
संघले उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित उमेश डालमिया, संघ प्रदेश नम्बर १ को अध्यक्ष पदमा निर्वाचित टीकाराज ढकाल, प्रदेश सदस्यमा निर्वाचित भूपाल कटुवाललाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
त्यस्तै, सम्मानित हुने सञ्चारकर्मीहरुमा एपी वान टिभीमा आबद्ध पत्रकार सुब्रत न्यौपाने र पूर्वाञ्चल दैनिकमा आबद्ध पत्रकार तुलसीप्रसाद निरौला छन् । उनीहरुलाई जनही ११ हजार रुपैयाँ नगद राशिसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरियो ।
संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन सत्रमा स्वागत वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी र सञ्चालन महासचिव भेषराज भण्डारी(प्रशान्त) ले गरेका थिए ।