बिर्तामोड , माघ ६ । बिर्तामोड ३ स्थित पञ्चकन्या महिला बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले साधारणसभाको उद्घाटन गर्दै बिर्तामोडमा महिलाले खोलेका १३ वटा सहकारीमध्ये पञ्चकन्या दोस्रो स्थानमा रहेको बताए । उनले एक व्यक्ति एक सहकारी र २ हजार जना सदस्य बनाउनै पर्ने नियम तत्काल लागू नहुने भएको भन्दै नआत्तिन सहकारी संस्थाहरुलाई आग्रह गरे । संस्थाकी अध्यक्ष रेनुकादेवी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ की महिला सदस्य कुमारी दर्नाल , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष पाठकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्जाको प्रकार र व्याज दरका बारेमा जानकारी दिइन् । उनले संस्थाले सदस्यहरुलाई स्वास्थ्य राहत, सुत्केरी राहत र मृत्यु राहत प्रदान गर्दै आएको बताइन् । कार्यक्रमा व्यवस्थापक संगीता राजवंशीले प्रतिवेदन प्रस्तुत गर्दै हाल ८० लाख ७२ हजार ८ सय रहेको शेयर पूँजीलाई चालू आर्थिक वर्षमा थप गरी १ करोड रुपैयाँ पुर्याउने बताइन् । उनले हाल ७ सय रहेको सदस्य सँख्या बढाएर २ हजार पुर्याउने लक्ष्य रहेकोसमेत जानकारी दिइन् । उनका अनुसार यस वर्ष संस्थाले कोरोना महामारीका बीच ५ लाख ७१ हजार ३९१ रुपैयाँ नाफा कमाउन सफल भएको छ । कार्यक्रममा लेखा समिति संयोजक दुर्गादेवी चुडालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस अवसरमा जेष्ठ नागरिक बेचली राजवंशी , असल बचतकर्ता रोजिना चौधरी र असल ऋणी खुवावती माझीलाई सम्मान गरिएको थियो । कोषाध्यक्ष नैनकला ढकालले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष यादवकुमारी तिम्सिनाले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्