बिर्तामोड , माघ ७ । राजनीतिमा मात्र पुस्ता हावी हुँदो रहेनछ । पवित्रस्थल मन्दिरमा पनि त्यो प्रवृति हावी भएको पाइएको छ । बिर्ताबजारस्थित पुरानो शिवालय मन्दिरमा एउटै परिवारको तीन पुस्ताले वर्षौदेखि पुजारीको काम गर्दै आएका छन् ।

सुरेश गिरीको परिवारले विगत तीन पुस्तादेखि त्यस मन्दिरमा पुजारीको काम गर्दै आएका हुन् । सुरेशका बुवा सोभित र सोभितका पनि बुवा केशर गिरीगरी हजुरबुवादेखि नातिसम्मले एउटै मन्दिरको पुजारी बन्ने अवसर पाएका छन् । एउटै परिवारले पुस्तौंदेखि पुजारीको काम गरिरहँदा कसैले पनि अहिलेसम्म खोजी गरेका छैनन् । आफ्नो परिवारको तीन पुस्ताले शिवालय मन्दिरमा पुजारीको काम गर्दै आएको अहिलेका पुजारी सुरेशका छोरा रन्धीरले बताए । बिर्तामोड ३ बिर्ताबजारमा शिवालय , दुर्गा मन्दिर , रामसीता र राधाकृष्ण मन्दिर देवी गुठी मठमन्दिर संरक्षण एवं पुजा समितिअन्तर्गत संचालित छन् । एउटै परिवारले तीन पुस्तादेखि शिवालय मन्दिरमा पुजारीको काम गरिरहेकोबारे बेलाबेलामा कुरा उठ्ने गरेको देवी गुठी मठमन्दिर संरक्षण एवं पुजा समितिका अध्यक्ष वासु माझीले बताए । उनले पुजारी हेरफेरका लागि छलफल भइरहेको जानकारी दिए ।
मन्दिरमा निशुल्क पुजापाठ
सय वर्षभन्दा लामो इतिहास बोकेको त्यस शिवालय मन्दिरमा गिरी परिवारले निशुल्क रुपमा पुजापाठ गर्दै आएका छन् । आफ्ना हजुरबुवा र जिजुबुवाले त्यस मन्दिरमा निशुल्क रुपमा पुजारी भएर सेवा गरेको र अहिले बुवाले पुजारीको काम गरिरहेको रन्धीर गिरीले बताए । पुजारीको परिवारलाई बस्न एउटा कटेरो दिइएको छ । त्यसबाहेक आफूहरुलाई अरु सुविधा नभएको रन्धीरले बताए । शिवालयको नाममा करीव एक विगाह जग्गा छ । जुन जग्गाको केही भागमा मन्दिर अवस्थित छ भने धेरै जग्गा महेन्द्र रत्न मावि र अनारमनी पव्लिक क्याम्पसले ओगटेका छन् । शिवालयको नाममा रहेको जग्गामा महेन्द्र रत्न माविको कक्षा ११ र १२ को भवन छ भने पुरै अनारमनी पव्लिक क्याम्पस शिवालयको जग्गामै अवस्थित छ । पहिला–पहिला पव्लिक क्याम्पसले पुजारीलाई महिनाको एक हजार रुपैयाँ दिने गरेकोमा केही वर्षदेखि दिन छाडेको रन्धीरले बताए । बिर्तामोड नगरपालिकाको ३ नं वडा कार्यालयले मन्दिरमा पुजापाठका लागि आबश्यक खर्च उपलब्ध गराउँदै आएको छ भने शिवालयको जग्गामा रहेका घुम्ती पसलहरुको भाडा उठाएर जीविकोपार्जन गर्न पुजारीलाई भनिएको छ । शिवालयको जग्गामा करीव एक दर्जन घुम्ती पसल रहेका छन् । ती पसलहरुले महिनाको सय रुपैयाँ दिने गरेका छन् । पसलको भाडा उठाएर खान भनेपनि नियमित रुपमा सबैले दिने नगरेको रन्धीरले बताए ।
आकर्षक पार्क बन्दै
बिर्तामोड नगरपालिका कार्यालय अगाडि हाल शिवालय रहेको ठाउँमा आकर्षक पार्क बन्ने भएको छ । करिव २५ लाख रुपैयाँको लागतमा फोहोरासहितको पार्क बन्ने भएको हो । त्यसैगरी शिवालयअगाडि रहेका अव्यवस्थित घुम्तीपसलहरुलाई शिवालयको उत्तरपट्टी टहरा निर्माण गरी व्यवस्थित गरिने वडाध्यक्ष भोजराज सिटौलाले बताए । उनले टहरा निर्माणपछि आम्दानीको स्रोत भएपछि पुजारी हेरफेर र उनीहरुलाई दिनुपर्ने सेवासुविधाका बारेमा निर्णय गरिने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्