झापा , माघ ७ । पछिल्लोसमय ह्वात्तै बढेका तीनचक्के साना सवारीहरु सिटी सफारी र अटोको भीडभाड र त्यसले गर्ने सडक नियम उल्लंघनका कारण ट्राफिक व्यवस्थापन सकसपूर्ण बन्दै गएको छ ।

फाइल तस्वीर


गाउँ–शहर जताततै एकपछि अर्को गर्दै दिनानुदिन थपिईरहेका ती सवारी एउटा जिल्लाबाट अर्को जिल्लामा गुडाउन नपाइने मापदण्ड छ । तर, ती सवारी साधन जिल्लाभित्रै पनि कहाँदेखि कहाँसम्म र कति दूरीसम्म गुड्न पाउने भन्ने स्पष्ट नियम नहुँदा जताततै गुड्दै आएका छन् ।
निश्चित रुट परमिट नभएकै कारण ती सवारी यात्रु लिएर गाउँदेखि शहरसम्म ओहोरदोहोर गर्ने गर्छन् । केही यस्ता सवारी भीडभाड नभएका स्थान र गाउँभित्र मात्रै यात्रु ओसारपसार गर्छन् । तर, अधिकाँश यी सवारी बिहानै यात्रु लिएर ब्यस्त शहर बजारतर्फ हुईकिन्छन् र, साँझमा मात्र गाउँ फर्किन्छन् ।
त्यसैपनि अत्यधिक संख्याका ठूला तथा साना सवारीको आउजाउ र जनघनत्व हुने शहर बजारमा जिल्लाभरका सिटी र अटो थुप्रिँदा पैदल यात्रीले सास्ती खेप्नुपरेको छ भने ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने गरेको छ ।
पूर्व–पश्चिम लोकमार्गमा पर्ने फुटपाथ पसल, पैदल यात्रीको बढ्दो चहलपहल र ठूला सवारीको भीँडभाडमा यस्ता तीन पाङ्ग्रे सवारी अत्यधिक थपिएपछि सवारी व्यवस्थापनमा चुनौती थपिएको ट्राफिक प्रहरीहरु बताउँछन् ।

‘जिल्लाका कतिपय ठाउँमा सिटी र अटो पार्किङका लागि स्टेनको टुँगो लागेको छैन’ जिल्ला ट्राफिक प्रहरी प्रमुख एवँ प्रहरी निरीक्षक प्रकाश जवेगु भन्छन्–‘त्यसमाथि अझ यस्ता सवारी हाँक्ने चालक गर्ने लापरवाहीले थप समस्या निम्तिने गरेको छ ।’
उनका अनुसार अटोको भीडका कारण सडक अत्यधिक मात्रामा ब्यस्त हुने गरेको र अन्य सवारीलाई आवतजावतमा समस्या हुने गरेको छ । प्रालि र संघमा आबद्ध अटो र सिटीका चालकहरुसँग छलफल गरी यो समस्या दीर्घकालीन रुपमा हल गर्ने योजना बनाइएको ट्राफिक प्रहरी निरीक्षक जवेगु बताउँछन् ।
झापाका ब्यस्त बजारमा अस्तव्यस्त रुपमा पार्किङ गरेर राख्ने अटो र सिटीहरुलाई व्यवस्थित गर्न अस्थायी रुपमा अटो स्टेन बनाउने, खाली अटोलाई बजार क्षेत्रमा प्रवेश निषेध गर्ने निर्णय यसअघि भएको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितिको भर्खरै सम्पन्न बैठकबाट सो योजना पारित भएको जानकारी गराउँदै उनले भने–‘बैठकले गरेको निर्णय बमोजिम हामीले चालकलाई १० दिनको समय दिएका छौं ।’सवारी आवागमन चुस्तदुरुस्त र व्यवस्थित गर्न प्रालिमा आबद्ध चालकहरुलाई एक चरणमा २÷३ वटा प्रालिका चालकहरु गरी करिब १ सय ५० जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिने योजना बनाएको छ ।
उनीहरुलाई सम्भावित दुर्घटनाबाट जोगिन र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउन चालकहरुले के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्ने बारेमा सजग गराउने तयारी ट्राफिक प्रहरीको छ । त्यस्तै, शनिश्चरे रोडमा बिर्तामोड क्षेत्रका अटोको अस्थायी पार्किङ गराउने गरी आवश्यक तयारी थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख जवेगुले बताए ।
दुर्घटनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मानवीय क्षति कम गराउने उद्देश्यले मुक्ति चोक आसपासका पैदल यात्रीलाई अनिवार्य रुपमा जेब्रा क्रसिङको प्रयोग गरी सुरक्षित तवरले यात्रा गर्न उनले आग्रह गरेका छन् ।

मापसे गरेका चालकले प्रहरीकै अगाडि पिसाब गरेपछि…
गत शनिबार को २ ह ४७०२ नम्बरको धरानको अटोका चालकलाई बिर्तामोड–५ मा अत्यधिक मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला पारी जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । मदिराले उभिनै नसक्ने गरी लठ्ठ भएका उनले ट्राफिक प्रहरी कार्यालयमा ल्याएपछि कार्यालयमा पिसाब गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक जवानले भने–‘हामीले पिसाब गरेको ठाउँ पानीले धोएर सफा गर्यौं, तर हामी माथि नै हप्कीदप्की गर्दै हात्पात् गरे ।’
उनलाई एक रात मेडिकलमा राखेर स्वास्थ्य परीक्षणपछि सम्झाईबुझाई गरी घरतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख जवेगुले बताए । गएको पुष महिनामा मात्र अत्यधिक मापसे गरी अटो चलाउने करिब १२ जना चालकलाई कार्वाही गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्