झापा , माघ ८ । के.पी. ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन तथा विरोध सभा सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको पुष १९ को निर्देशन र नेपाली कांग्रेस झापाको पुष २१ गतेको निर्णयबमोजिम झापाका १५ वटा पालिकाका एकसय ३१ वटै वडामा वडास्तरीय विरोध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।
विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्लाका पदाधिकारी–सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय–प्रदेश क्षेत्रीय सभापति, गाउँ–नगर सभापति तथा जिल्लाले वडामा खटाएमा प्रतिनिधिहरुले सम्बोधन गरेका छन् । अधिकांश विरोध सभाका वक्ताहरुले संविधानमा संसद विघटनको प्रावधान नै उल्लेख नभएको बताउँदै प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमका विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।
वर्तमान प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने प्रक्रिया नै नचाली संसद विघटन गरेपछि नेपाली कांग्रेससहितका दलहरु अहिले सडक संघर्षमा उत्रिएका छन् ।

यसैबीच बिर्तामोड–३ मा आयोजित विरोध सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संविधानमा प्रावधान नै नभएको धारा उल्लेख गरेर संसद विघटन गर्नु लोकतान्त्रिक संविधानमाथिकै प्रहार भएको उल्लेख गर्दै लोकतान्त्रिक संविधानको रक्षा कांग्रेसको पहिलो कर्तब्य भएको बताए । वडा सभापति प्रेम उप्रेतीको सभापतित्वमा सम्पन्न विरोध सभामा पूर्व सांसद डिल्ली सिटौला , नगर सभापति भोजराज सिटौलालगायतले बोलेका थिए ।
यसैबीच झापाको बुद्धशान्ति ३ मा आयोजित विरोधसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले कम्युनिष्ट नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको र संविधानमाथि नै धावा बोलेको आरोप लगाइन् ।
अर्जुनधारा–८ मा आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले विरोध प्रदर्शन जारी राख्ने उद्घोष गर्दै प्रदर्शनमा सशक्त सहभागिता जनाउन आम लोकतन्त्रप्रेमी महानुभावलाई आह्वान गरे ।
झापाको अर्जुनधारा–११ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कम्युनिष्ट पार्टीभित्रको बेमेलका कारण संसद विघटन गरेर ओलीले अलोकतान्त्रिक चरित्र देखाएको बताउँदै संविधानको संरक्षणका लागि कांग्रेस जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावनी दिए ।

यसैगरी झापाको भद्रपुर–५ मा ओमप्रकाश सरावगी, कनकाई–३ मा देउकुमार थेवे, दमक–६ मा विश्वदीप लिङ्देन, मेचीनगर–४ मा राम कट्टेल, ३ मा केशवराज पाण्डे, १४ मा लोकराज ढकाल, १५ मा ताराविर कटुवाल, बुद्धशान्ति–५ मा प्रेम सम्बाहाम्फे, बाह्रदशी–२ मा दयानन्द गोश्वामी, कमल–७ मा दिलिप राई, ६ मा राजेन्द्र भण्डारी, अर्जुनधारा–६ मा दीपक तामाङ, शिवसताक्षी–४ र ५ मा भक्ति सिटौला, बिर्तामोड–५ मा महासमिति सदस्य सिता पौडेल, बिर्तामोड–४ मा जलकुमार गुरुङ तथा अन्य वडाहरुमा जिल्लाबाट खटाइएका प्रतिनिधि, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय तथा प्रदेश क्षेत्रीय सभापति, गाउँ–नगर सभापतिलगायतले सम्बोधन गरेका थिए । यसअघि जिल्ला, निर्वाचन क्षेत्र, ३३० वटै प्रदेश निर्वाचन क्षेत्र र ७ सय ५३ वटै पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले ओलीको असंवैधानिक कदमबारे आम जनसमुदायलाई जानकारी गराउँदै त्यसको विरोधमा जनमत सिर्जना गर्न वडातहमा विरोध प्रदर्शन गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्