विमर्श उप्रेती
भारतको पश्चिम बंगाल राज्यसँग खुल्ला सीमा जोडिएको काँकरभिट्टालाई देशकै एक संवेदनशील नाकाको रुपमा लिईन्छ । पूर्वी नेपालको सीमान्त शहर काँकरभिट्टा भारत तथा तेस्रो मुलुकका नागरिक सिधै आउजाउ गर्ने र ब्यस्तताका कारण सुरक्षाका दृष्टिले उत्तिकै जोखिमपूर्ण मानिन्छ ।

मानव बेचबिखन, लागुऔषधको ओसारपसारलगायत अन्य आपराधिक घटना हुने सम्भावना पनि उत्तिकै प्रबल छ– यो नाकाबाट । यी र यस्तै सुरक्षा चिन्ता र चासोकै कारण सम्भावित अपराधजन्य घटना र त्यसमा संलग्न व्यक्तिलाई उम्किन नदिन सीसी क्यामेरा जडानको आवश्यकता महसुस गर्यो– पर्यटन तथा यातायात व्यवस्थापन समितिले ।
पर्यटन र यातायात क्षेत्रमा आबद्ध काँकरभिट्टाका अगुवाहरुले नाकामा सीसी क्यामेराको अवधारणा अघि सारेर बैठक बसी शहरी क्षेत्रको चौबिसै घण्टा निगरानी गर्न सीसी क्यामेरा जडान गर्ने निर्णय गर्यो ।
त्यस कार्यका लागि आवश्यक सम्पूर्ण तयारी र प्रक्रिया पूरा भएसँगै उक्त समितिले गतवर्ष साउन २४ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टामा एक भव्य कार्यक्रम आयोजना गरी सीसी क्यामेराको उद्घाटन गर्यो ।
नेपाल प्रहरी, १ नम्बर प्रदेशका तत्कालीन डिआइजी ठाकुरप्रसाद ज्ञवालीबाट सीसी क्यामेराको उद्घाटन भयो । त्यससँगै बजारको निगरानी गर्न र अपराधका घटनामा संलग्नलाई पक्राउ गर्न यो सहयोगी उपकरण महत्वपूर्ण सावित पनि भयो । तर, जडान गरिएका २३ वटा यस्ता उपकरणमध्ये तीन महिनायता ९ वटा बाहेक बाँकी सबै बिग्रिएर कामै नलाग्ने भएका छन् ।
समितिको पहलमा २१ र जिल्ला प्रहरी कार्यालयबाट प्राप्त २ गरी कूल २३ वटा क्यामेरा जडान गरिएपनि एशियन हाइवे निर्माणका क्रममा भएको लापरवाहीका कारण १४ वटा क्यामेराले काम गर्न छोडेकोप्रति समितिका अध्यक्ष निरबहादुर कार्की(नेत्र) ले चिन्ता प्रकट गरे ।
‘हाइवे बनाउँदा हेल्चेक्र्याईं भो, तार चुँडिएर धेरै क्यामेरा बिग्रिएका छन्, अरु प्राविधिक कारण पनि होलान्’ उनले थपे–‘हाइवे निर्माण गर्दैगर्दा समितिसँग सहकार्य गरेको भएपनि हुन्थ्यो, दाताको लगानी बालुवामा पानी जस्तै भो ।’
यस विषयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हाल्न भर्खरै आएका डिएसपी सुनिल दाहाललाई जानकारी गराइएको बताउँदै उनले भने–‘समितिसँग चाँडै समन्वय गरी क्यामेरा सुचारु गर्ने आश्वासन आएको छ ।’
‘एउटा सीसी क्यामेराले १० जना प्रहरी बराबरको काम गर्छ, यस्तो संवेदनशील विषयमा सुरक्षा निकाय गम्भीर नबन्नु दुःखद छ’ उनी भन्छन्–‘यस्ता उपकरण नहँुदा आपराधिक घटनाले प्रश्रय पाउँछ र अपराधीको मनोबल पनि बढ्नसक्छ ।’
उक्त क्यामेरा जडानका लागि मेचीनगर नगरपालिकाले ५ लाख ८४ हजार ३ सय ४९, सहारा नेपाल साकोसले १ लाख, काँकरभिट्टा खानेपानी संस्थाले ५० हजार, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले व्यक्तिगत रुपमा ५० हजार र मेची बस यातायात व्यवसायी प्रालिले ४० हजार रुपैयाँ उपलब्ध गराएका थिए ।
करिब १४ लाख २ हजार ५ सय ९३ रुपैयाँ रकम खर्चेर गरी जडान गरिएका ती क्यामेरा खरिद गर्न व्यवसायी तथा सर्वसाधारणले जनही न्यूनतम ५ सय रुपैयाँसम्म प्रदान गरेका थिए । समितिका अध्यक्ष कार्कीका अनुसार सो कार्यका लागि १२ लाख ६५ हजार ९ सय ४९ रुपैयाँ संकलन भएकोमा ९५ हजार ६ सय ४४ रुपैयाँ अध्यक्ष र सचिवबाट व्यक्तिगत रकम लगानी भएको छ ।
समाजमा शान्ति सुरक्षा एवँ अमनचयन कायम गराउन सीसी क्यामेराको मर्मतसम्भार गरी सुचारु गराउने कार्यमा गम्भीर बनिदिन समितिले सरोकारवाला सबैपक्षलाई आग्रह समेत गरेको छ ।

सीसी क्यामेराबाट चारआलीको निगरानी
चारआली चोक÷बजार तथा आसपासका क्षेत्रलाई ६ महिनायता १८ वटा सीसी क्यामेराले निगरानी गर्दै आएको छ ।
चारआलीमा सीसी क्यामेराको आवश्यकता महसुस गरिएसँगै उपभोक्ता समिति गठन गरेर क्यामेरा जडान गरिएको समिति सदस्य बद्री महतले जानकारी दिए ।
‘क्यामेराले चारआली चौकबाट चारैतर्फ निगरानी गरिरहेको छ, ४ वटा चाहिँ उच्च गुणस्तरको पिटिजेट कम्पनीको भेरीफोकल क्यामेरा छन्’ उनी भन्छन्–‘जसले १५÷१६ पटक जुम गर्नसक्छ ।’
तीमध्ये दुईवटा धाइजन–चारआलीको सीमामा पर्ने सब्जी मण्डीमा र बाँकी १६ वटा चौकदेखि वरपरका विभिन्न ठाउँमा जडान गरिएका छन् ।
मेचीनगर नगरपालिकाबाट विनियोजित ४ लाख ७० हजार, स्थानीयबाट संकलित ८ लाख रुपैयाँ रकमबाट ती क्यामेरा जडान गरिएका हुन् । सो कार्यका लागि करिब १२ लाख रुपैयाँ खर्च भएको बताउँदै उनले भने–‘डेढ लाख रुपैयाँ समितिसँग बचत छ, केही रकम जुट्नै बाँकी छ ।’

३२ वटा सीसी क्यामेरा जडान हुँदै
धुलाबारी बजार सीसी क्यामेरा जडान उपभोक्ता समिति बजार आसपासका क्षेत्रमा ३२ वटा सीसी क्यामेरा जोड्न अन्तिम कसरतमा जुटेको छ ।
त्यस कार्यका लागि गतवर्ष नै समिति गठन गरी आवश्यक तयारी सुरु गरिएपनि कोभिड–१९ का कारण जडानमा ढिलाई भएको समितिका सचिव मिलनराज प्रसाईं बताउँछन् ।
‘समितिले पोहोर केही रकम जुटाएको छ, कोरोनाका कारण योजना बीचमै रोकियो’ प्रसाईं भन्छन्–‘आवश्यक बजेट व्यवस्थापनका लागि नगरपालिकासँगको सम्झौता अन्तिम चरणमा पुगेको छ ।’
मेचीनगरकै पुरानो र ब्यस्त धुलाबारी बजार वरपरको शान्ति सुरक्षालाई दृष्टिगत गरी मेचीनगर–१० नम्बर वडा कार्यालयले समितिलाई क्यामेरा जोड्न ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
‘जडान गरेर मात्रै पुग्दैन, क्यामेरा बिग्रिरहन्छ, नियमित मर्मत सम्भार गर्नुपर्ने हुन्छ’ उनले भने–‘त्यसका लागि करिब २ लाख रुपैयाँ रकम जम्मा गर्ने सोच बनाएका छौं ।’
धुलाबारी मोडबाट चारै दिशातर्फ करिब ४ किलोमिटर दूरीसम्म अप्टिकल फाइबरको तार टाँगेर सो क्यामेरा जडान गर्ने अन्तिम तयारी भइरहेको समितिले जनाएको छ ।
३२ वटा क्यामेराले धुलाबारी मोडदेखि उत्तरतर्फ २ किमी, दक्षिणतर्फ १ किमी, पश्चिमतर्फ र पूर्वतर्फ गरी १ किमी दूरीको चौबिसै घण्टा निगरानी गर्नेछ ।
सचिव प्रसाईंका अनुसार क्यामेरा सुचारु रुपमा सञ्चालनमा आएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा रहने कन्ट्रोल रुमबाटै त्यसको नियमित मनिटरिङ हुनेछ ।

बिग्रियो मनिटर र क्यामेरा
ट्राफिक प्रहरी पोष्ट धुलाबारीको कन्ट्रोल रुमले मनिटरिङ गर्नेगरी जडान भएका चारवटामध्ये २ वटा क्यामेरा र मनिटरमा समस्या आएको छ ।
ती क्यामेरा करिब ४ वर्षअघि धुलाबारी मोडबाट चौतर्फी निगरानी गर्नेगरी चार दिशातर्फ फर्काएर जडान गरिएकोमा झण्डै २ महिनायता मनिटर र दुईवटा क्यामेरामा समस्या आएको हो ।
दुईवटा क्यामेरा परिवर्तन गर्न र मनिटरलगायतका सामग्रीको मर्मत सम्भारका लागि मेची उद्योग वाणिज्य संघले ४० हजार रुपैयाँ प्रदान गरेको संघका अध्यक्ष ऋषिराज तिम्सिना बताउँछन् ।
‘लकडाउनअघि पोष्टले संघसँग समन्वय गरेपछि मनिटर मर्मतसम्भार र क्यामेरा परिवर्तन गर्न केही रकम सहयोग गरेका थियौं’ उनले भने–‘पछिल्लो अवस्थाबारे जानकारी आएको छैन ।’
त्यहाँ जडान गरिएकामध्ये दुईवटा क्यामेरा र मनिटरमा समस्या आएपनि पूर्णरुपमा नबिग्रिएकाले चौबिसै घण्टा रेकर्ड भने भइरहेको बताइएको छ ।
४ वर्षअघि उक्त पोष्टको कमाण्ड सम्हालेका तत्कालीन ट्राफिक प्रहरी हवल्दार योगेन्द्र थापाको सक्रियतामा ती क्यामेरा जडान गरिएको थियो ।
मेची उद्योग वाणिज्य संघ, सामाजिक संघसंस्था, व्यवसायी तथा स्थानीयको सहयोगमा करिब २ लाख रुपैयाँ रकम संकलन गरी ती क्यामेरा जडान गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्