दमक , माघ ९ । दमक २ मा रहेको हिमालय माध्यमिक विद्यालयले बिभिन्न कार्यक्रम गरी आज आफ्नो ६५ औं वार्षिक उत्सव मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गत बर्षको परिक्षामा प्रथम, द्वितीय र तृतीय भई उत्तीर्ण हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यालयमा अक्षय कोष स्थापना गर्ने दाता परिवारलाई सम्मान गरिएको थियो ।
विद्यालयको वार्षिक उत्सव भब्य कार्यक्रम गरी मनाउने योजना भएको भएपनि कोरोना संक्रमणको जोखिमका कारण सामान्य रुपमा गरिएको बिद्यालयका प्राचार्य ओम आचार्यले जानकारी दिए । सीमित अभिभावक र विद्यार्थीहरुकाबीच पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिएको उनले बताए ।
यसैबीच सोही कार्यक्रममा तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट एकजना शिक्षक र १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यालयका कम्प्युटर शिक्षक सञ्जय खत्रीसहित १० जना जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरिएको अक्षय कोषका संस्थापक डा. लेखनाथ न्यौपानेले जानकारी दिए । विगतका बर्षहरुदेखि नै सो कोषबाट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्दै आएकोमा केही दिनभित्रमा दमक ७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा पनि पुरस्कार वितरण गरिने उनले बताए । स्व.माता तुलसादेवीको स्मृतिमा स्थापना गरिएको कोषमा सबै परिवारको तर्पmबाट रकम जम्मा गर्दै १० लाख रुपैयाँ पुग्न लागेको पनि उनले जानकारी दिए ।