बिर्तामोड , माघ १२ । बिर्तामोड ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्थाले संस्थापक अध्यक्ष काशीलाल चौधरीको छैठौ स्मृति दिवसमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

भद्रपुरको पृथ्वीनगरमा रहेको ऐतिहासिक , धार्मिक एवं पर्यटकीयस्थल किचकबधमा कार्यक्रम गरी सहकारीले सहकारी अभियन्ता काशीलालको स्मृति दिवस मनाएको हो । समाजसेवी एवं राजनीतिकर्मी स्वर्गीय काशीलालको तस्वीरमा माल्यार्पण गरी शुरु गरिएको कार्यक्रममा उनले दिएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष एवं कांगे्रसका नगर सभापति भोजराज सिटौलाले सरल र त्यागी नेता काशीलालले दिएको योगदान विर्सनै नसकिने बताए । सिटौलाले काशीलालले लिएको नीतिलाई अंगिकार गरी उनले देखाएको बाटोमा हिड्न सक्दा नै साँचो श्रद्धाञ्जली हुने धारणा राखे ।

कार्यक्रममा नेपाल महिला संघकी जिल्ला अध्यक्ष सुशिला ढकाल , सहकारीका सल्लाहकारहरु पुष्पलाल चौधरी , लीला मैनाली, प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले स्वर्गीय काशीलालले दिएको योगदानको चर्चा गरेका थिए । त्यस अवसरमा सहकारी शिक्षासम्बन्धी प्रशिक्षण पनि दिइएको थियो । बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखाका प्रमुख डिल्ली दाहालले सहकारीका संस्थापक , शेयर सदस्य र कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए । उनले सहकारी ऐन , सहकारी दर्ता , कोपोमिस , कर्मचारीहरुको दायित्वलगायतका विषयमा जानकारी दिएका थिए ।

सहकारी संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष युवराज विमली गरेका थिए भने संचालन मीरा खड्काको रहेको थियो । त्यस अवसरमा वनभोज कार्यक्रमको पनि आयोजना गरिएको थियो । संस्थापक अध्यक्ष काशीलालको स्मृति दिवसमा यसअघि सहकारीले तीन पटक रक्तदान , एक पटक बृद्धाश्रमलाई जग्गा प्रदान र एकपटक विपन्न विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको अध्यक्ष लवकुमारले बताए । बिर्तामोडमा दर्ता रहेका ३३ वटा सहकारीमध्ये गौरवशाली साकोस १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्