काँकरभिट्टा , माघ १२ । प्रहरी नायव उपरीक्षक सुनिल दाहालले समाजमा शान्ति सुरक्षा व्यवस्थापनका लागि प्रहरी र नागरिकबीचको सम्बन्ध महत्वपूर्ण हुनुपर्ने बताएका छन् ।

एक साताअघि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हालेका डिएसपी दाहालले सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी प्रहरी मात्रको हो’ कार्यालय परिसरमा भएको परिचयात्मक कार्यक्रममा उनले भने–‘तर, व्यवस्थापनमा भने सरोकारवाला सबैपक्षको भूमिका आवश्यक पर्छ ।’
प्रहरी र पत्रकारबीचको सम्बन्धमा कहिलेकाहीँ फाटो आउने गरेको प्रसंग कोट्याउँदै डिएसपी दाहाल भन्छन्–‘दुवैको काम चुनौतिपूर्ण छ, दुवैपक्षबीच सकारात्मक सम्बन्ध कायम हुनसके शान्ति सुरक्षामा सघाउ पुग्छ ।
‘म यसो गर्छु र उसो गर्छु भनेर हुँदैन, विज्ञापन शैलीमा म कुनै फण्डा गर्दिनँ’ दाहालले भने–प्रहरी र सुरक्षा निकायले कानून कार्यान्वयन गराउने हो, नयाँ प्लान सेट गरिरहन जरुरी छैन, कानूनले तोकेकै छ ।’
पूर्वी नाकाको सुरक्षा कमाण्ड सम्हालेपछिको योजनाबारे सञ्चारकर्मीको जिज्ञासामा उनले यसअघि कार्यालयमा भए–गरेका सकारात्मक कामलाई निरन्तरता दिईने र आवश्यक परे कानूनको अधिनमा रही ‘एक्सन प्लान’ बनाइने स्पष्ट पारे ।
विद्यमान प्रचलित ऐन कानूनको परिधिमा रहेर प्रहरीले ‘ड्यूटी’ गर्ने भएका कारण प्रहरीको काम सजिलो भनेका उनले थपे–‘त्यही सीमारेखाभित्र रहेर ऐन कानून बमोजिम प्रहरीले अपराध अनुसन्धान र रोकथाम गर्ने हो ।’
अर्को एक फरक प्रसंगमा डिएसपी दाहालले प्रहरी आपराधिक पृष्ठभूमिका व्यक्तिसँग नमिल्ने हो भने अपराध कर्ममा लाग्नेहरु डराउने र आपराधिक गतिविधि क्रमशः न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।
समाजमा शान्ति सुरक्षा एवँ अमनचयन कायम गर्ने दायित्व लिएको प्रहरीको गैरकानूनी गतिविधिमा संलग्नता नहोस् भन्न आफ्नो कार्यालय मातहतका प्रहरी कर्मचारीलाई सचेत गराइएको उनको भनाई थियो ।
आफ्नो एरियाभित्र सीमा नाकाको सुरक्षा व्यवस्थापन, लागू औषध, जंगली हात्तीको प्रकोपलगायतका चुनौती र ठूलो समस्या देखिएको चर्चा गर्दै दाहालले सबैखाले चुनौती र समस्यासँग जुध्न सबैमा इमान्दारिता आवश्यक रहेको धारणा राखे ।
‘इमान्दारिता नै महत्वपूर्ण हतियार हो, सकारात्मक सोच राखेर इमान्दारितापूर्वक जिम्मेवारी बहन गर्ने हो भने त्यसले कामप्रति आत्मविश्वास बढाउँछ र समस्या हल गर्न सहयोग पुग्छ ।’–उनले भने ।
‘सीमाक्षेत्रमा सरुवा हुन त ठूलै पावर चाहिन्छ भन्ने सुनिन्छ नि ? भन्ने पत्रकारको प्रश्नमा डिएसपी दाहालले भने–‘मेरो सरुवा यहाँ हुन्छ भन्ने थाहै थिएन, यो सरुवा संयोगान्त हो, मागेर काँकरभिट्टा जान्छु भन्ने नै थिएन ।’
काँकरभिट्टामा सरुवा भएपछि धेरैले बधाई समेत दिएको र यसलाई आफूले गम्भीर र महत्वपूर्णमा रुपमा लिएको सुनाउँदै उनले भने–‘प्रशस्त पैसा आर्जन गर्नेले जागिर खाने होइन, व्यापार गर्नुपर्छ ।
त्यस अवसरमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, झापा शाखाका सचिव सन्तोष आचार्य, प्रेस संगठनका जिल्ला अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका उपाध्यक्ष शिशिर चौंलागाईं, सचिव जि.आर धिताल, देबु बानियाँलगायतले जिज्ञासा राखेका थिए ।
नेपाल प्रहरी एक नम्बर प्रदेश कार्यालयबाट सरुवा भई काँकरभिट्टा आएका डिएसपी दाहाल त्यसअघि प्रहरी निरीक्षकका रुपमा तीनवर्ष झापामा कार्यरत् थिए ।
जिल्ला प्रहरी कार्यालय भद्रपुर, तत्कालीन अञ्चल प्रहरी कार्यालय चन्द्रगढी र तत्कालीन सशस्त्र प्रहरी गुल्म मेचीमा गरी उनले तीनवर्ष झापामा बिताएका थिए ।
धनकुटा घर भएका उनी २०६४ सालमा प्रहरी निरीक्षकका रुपमा नेपाल प्रहरीमा भर्ना भई सेवारत् छन् ।