कुन्जीवारी, माघ १७ । गौरीगञ्ज गाउँपालिका वडा न.१ कुन्जीवारीस्थित बाल बालकल्याण माध्यमिक विद्यालयका भुतपूर्व विद्यार्थी समाजले पूर्व कर्मचारी र प्रधानाध्यापकहरूलाई यस वर्ष पनि सम्मान गरेको छ ।

शुक्रवार पर्यटकीय स्थल दोमुखामा भुतपूर्व विद्यार्थीले वनभोजसहित पुनर्मिलन कार्यक्रम गरी २०३८ सालदेखि विद्यालयमा अनवरत सेवा पुर्याउदै आएका कर्मचारी बाजे भिमप्रसाद खतिवडालाई नगद ५ हजार र सम्मानपत्र तथा पाँच जना पूर्व प्रधानाध्यापकलाई सम्मान गर्नुका साथै विभिन्न क्षेत्रमा संलग्न ८ जना पूर्व विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।
उनीहरुलाई गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, संस्थाका अध्यक्ष विष्णु पौडेल, वडा नं १ का अध्यक्ष कार्तिकलाल राजवंशीलगायतले अविर लगाएर सम्मान गरेका हुन्।
भुतपूर्व विद्यार्थी समाजले विद्यालय र विद्यार्थीलाई हित र उन्नतिमा विशेष योगदान पुर्याए बापत उनीहरुलाई सामूहिक रुपमा सम्मान गरेको हो । यसरी सम्मानित हुने प्रअहरूमा जयलाल राजवंशी,नारायणबहादुर कार्की, भोलाप्रसाद खतिवडा, देवीप्रसाद बराल, अच्युत नेपाल रहेका छन् । त्यसैगरी संस्थाले २०६१ सालमा मोटरसाईकल दुर्घटनामा परेका विद्यालयका भुतपूर्व शिक्षक मोहनप्रसाद ओलीकी श्रीमती सीता ओलीलाई सशक्त नारी सम्मानले सम्मानित गरेको थियो भने ८ जना भुतपूर्व विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
अक्षयकोषको घोषणा
२०१७ सालमा स्थापना भएको बालकल्याण माविमा एसएलसी दिने दोस्रो ब्याचका ३ जना पूर्व विद्यार्थीले छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
बालकल्याण माविबाट एसएलसी दिने दोस्रो ब्याचका प्याब्सन सुनसरीका अध्यक्ष तथा विद्यालयका भुतपूर्व विद्यार्थी विष्णु कोईराला, भुतपूर्व विद्यार्थी जमुना राजवंशी र सुशीला निरौलाले ५१ हजार रूपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । उक्त अक्षयकोषलाई १ लाख रूपैयाँसम्म पुर्याई त्यसको ब्याजबाट वार्षिकरूपमा हुन आउने रकमबाट विद्यालयका मेधावी तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कृत गरिने भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष विष्णु पौडेलले बताए ।
कार्यक्रममा प्रमुख अतिथि गाँउपालिका उपाध्यक्ष थापा,वडा नं १ का अध्यक्ष राजवंशी, विद्यालयको पहिलो ब्याचबाट कल्याणराज दाहाल,पूर्व शिक्षक चन्द्रबहादुर खड्का,तत्कालिन गाविस उपाध्यक्ष देवेन्द्र राजवंशी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष पर्शुराम काफ्ले , शिक्षा अधिकृत केशवप्रसाद भट्टराई , सुनसरी प्याब्सनका अध्यक्ष विष्णु कोईराला, पत्रकार राजेन्द्र गौतमलगायतले शुभकामना मन्तब्य राखेका थिए ।