दमक,माघ १८ । दमक –८ श्रीकृष्ण टोलमा बस्दै आएकी ४० बर्षिया पार्वती कटुवालका परिवारले सहयोगको लागि आग्रह गरेका छन् ।

विरामी पार्वतीको थप उपचार गर्न आवश्यक रकम नहुँदा कटुवाल परिवारले सवैसंग सक्दो सहयोगको याचना गरेका हुन् । विरामीका श्रीमान भक्त कटुवालले विरामीको उपचार गर्न परिवारसंग कुनै स्रोत नभएपछि दयालु मनकारीहरुसंग सहयोगको याचना गरे । विरामीको उपचार गर्न नसक्ने भएर रोगले च्याप्दै गएको भन्दै उनले आफूसंग थप उपचार गर्न आर्थिक नहुँदा मृत्यु कुरेर बस्न बाध्य हुनु परेको दुखेसो गरे ।

उनका अनुसार वर्ष दिनदेखि एक्कासी पेट फुल्ने समस्या देखिएपछि दिनानुदिन रोगले विस्तारै च्याप्दै गएको छ । चिकित्सकले विरामीको पाठेघरमा ट्यूमर पलाएको र उपचार गर्न १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने बताएपछि रोग पालेर बस्न बाध्य हुनुपरेको पीडित पार्वतीले बताइन् । ‘उपचार गर्नसके त बाँच्छु भन्ने लागेको छ ’ उनले भनिन्,–‘उपचार गर्न पैसा छैन, मलाई बाँच्न सहयोग गर्दिनुस् ’

सिटी रिक्सा चलाएर गुजारा गर्दैआएका कटुवाल वर्ष दिनदेखि त्यस टोलको एक घरमा भाडामा बस्दै आएका छन् । उनका १० बर्षिया छोरी उमा, ८ बर्षिया गोमा र ७ बर्षिय छोरा एकिन्द्र छन् । परिवारका ती सवै आफन्तसंग बस्दै आएका छन् । घरको अवस्था अत्यन्त नाजुकसंगै आमा नै थलिएपछि कटुवाल परिवारमा दैनिक हातमुख जोड्न उस्तै समस्या हुँदै आएको भक्तले बताए । ‘म आफै केही दिनयता अस्वस्थका कारण ओछ्यान परेको छु ’ उनले विलौना गर्दे भने, –‘ दैनिक हातमुख जोड्न संगै विरामी श्रीमतीको उपचार गर्न सम्पत्तिको नाममा कुनै जायजेथा नै छैन , अव के गरु ? ’

उनका अनुसार हालसम्म एक लाखबढी ऋण खोजेर विरामीको उपचार गरेपनि अहिले यहि नै रोग हो भनेर पत्ता लागेको छैन । उनको उपचार गर्न बिर्तामोडको बिएण्डसी र दमकको एक निजी क्लिनिकमा लगेका थिए परिवारले । एकपटक भरतपुरस्थित क्यान्सर अस्पतालमा पुगेपनि स्वास्थ्य उपचार गराउन नसक्दा त्यतिकै फर्किनु परेको विरामीको भनाइ छ । पार्वतीका श्रीमान भक्तले भने , –‘ उपचार गर्नका लागि पैसा नभएपछि घरमै राख्न बाध्य छु । ’
कटुवाल परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले उनको थप उपचारमा सघाउन स्थानीयले समेत चासो दिन थालेका छन् । उनलाई सहयोग गर्न चाहनेले सिधै विरामी तथा उनको परिवारसंग सम्पर्क गर्न सकिने जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्