दमक,माघ १९ । दमक –८ श्रीकृष्ण टोलमा बस्दै आएकी ४० बर्षिया पार्वती कटुवालका परिवारलाई कमल गाउँपालिका ६ स्थित लखनपुरको साझा कपडा बैंकले राहत सामग्री दिएको छ ।

पाठेघरको समस्याले पेट फुलिएर घरैमा थलिएकी पार्वतीको परिवारलाई कपडा बैंकले लत्ताकपडा तथा खाद्यान्न राहत सामग्री दिएको हो । पाठेघरमा ट्यूमर पलाएपनि उपचार गर्न आवश्यक रकम नहुँदा अतिविपन्न अवस्थाकी उनी घरैमा थलिएर बस्न बाध्य भएकी छिन् ।
कपडा बैंकका अध्यक्ष ज्ञानु खरेलसहितको टोली सोमबार उनी वस्दै आएको घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरिएको संस्थाका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
पीडित परिवारलाई जाडोका लागि एक थान डस्ना, एक थान सिरानी, तन्ना, लत्ताकपडासहित १ बोरा चामल प्रदान गरिएको उनले बताए । राहत सामग्री वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष बहादुर ताजपुरिया, सहसचिव सुमन वस्ती,कोषाध्यक्ष कल्पना आचार्यलगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले दुई वर्षअघि कमल–६ लखनपुरका युवाहरुले सो कपडा बैंक स्थापना गरेका थिए । उक्त संस्थाले आफ्नै स्रोत जुटाएर विपन्नलाई लत्ताकपडा, निःशुल्क स्वास्थ्य शिविरलगायतका सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको अध्यक्ष खरेलले बताए । पीडित परिवारले पार्वतीको जीवन बचाई दिन सबैसंग आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्