बिर्तामोड, माघ १९ । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको हुकुमी शासन धेरै दिन नचल्ने दावी गरेका छन् ।

नेपाली कांग्रेसमा आबद्ध भातृ संघसंस्थाको आयोजनामा झापाको बिर्तामोडमा आयोजित विरोधसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थापाले सडक संघर्षबाट स्थापित लोकतान्त्रिक ब्यवस्था र संविधान कांग्रेसले सडक संघर्षबाटै पुनस्र्थापित गर्ने चेतावनी दिएका हुन् । संसदको निर्णयबाट सिफारिस भएमात्रै राष्ट्रपतिले संसद विघटन गर्ने ब्यवस्थाविपरित मन्त्रिपरिषदको निर्णयबाट संसद भंग गर्नु संवैधानिक ब्यवस्थाविपरित भएको उल्लेख गर्दै नेता थापाले ओलीले देशलाई अन्योलको भूमरीमा धकेलेको बताए । पुष ५ गते कालो दिनको रुपमा स्थापित भएको उल्लेख गर्दै नेता थापाले ओलीको ब्यक्तिगत स्वार्थमा सर्वोच्चको निर्णय नआउने विश्वास समेत ब्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस झापा भातृ संघसंस्था विभाग प्रमुख देउमान थेवे, नेपाली दलित संघका केन्द्रीय सदस्य हस्त परियार, नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भट्टराईलगायतले बोलेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले के.पी. शर्मा ओली नेकपाको एक झुण्ड लिएर अघि बढेको उल्लेख गर्दै ओलीको निर्णयले संवैधानिक संकटतिर मुलुकलाई धकेलेको धारणा राखेका थिए ।

नेपाल महिला संघ झापा सभापति सुशिला ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तरुण दलका सहसचिव सजेश शिवाकोटी र सञ्चालन नेविसंघ सभापति राजेन्द्र उप्रेतीले गरेका थिए ।

विभिन्न नारा जुलुससहित बिर्तामोड बजार परिक्रमापछि इलाका प्रहरी कार्यालय बिर्तामोडअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम भातृ संघसंस्थाले सोमबार देशभर प्रदर्शन गरेका हुन् । के.पी. ओली नेतृत्वको सरकारले गत पुष ५ गते संसद विघटन गरेपछि नेपाली कांग्रेसले चरणबद्ध विरोध प्रदर्शन गरिरहेको छ । यसअघि जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगर र वडातहसम्म विरोध प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्