बरत राजवंशी,
कुमरखोद , माघ २१ । झापा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा वालविकासदेखि कक्षा ५ सम्मका विधार्थीलाई दिवा खाजाको व्यवस्था गरिएको छ ।

नेपाल सरकारले पहिले सामुदायिक विद्यालयअन्तर्गत रहेका वालविकासका विधार्थीहरुलाई मात्रै खाजाको व्यवस्था गरेको थियो । नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयवाट यो आर्थिक वर्ष २०७७–७८ मा वालविकासदेखि कक्षा ५ सम्मका विधार्थीहरुको लागि दिवा खाजाको लागि बजेट नै छुट्याइएको छ ।
वालविकासदेखि कक्षा ५ सम्मका सवै विधार्थीहरुलाई दैनिक एक विधार्थी बराबर १५ रुपैयाँको दरले स्कुलमा टिफिनको समयमा खाजाको व्यवस्था स्कुलभित्रै गर्नुपर्ने भएको छ ।

झापा गाउँपालिका वडा नं ६ मा रहेको भृकुटी आधारभूत विद्यालयका प्रधानाध्यापक मदन भण्डारी भन्छन् ‘सरकारले पहिले वालविकासका विधार्थीहरुलाई मात्रै खाजाको व्यवस्था गरेको थियो ,अहिले वालविकासदेखि कक्षा ५ सम्मका विधार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरिएको छ ।’उनले साना विधार्थीहरुलाई टिफिनमा घर गएर खाजा खाने झन्झट हटेको बताउँदै अहिले स्कुलले दिउँसो टिफिनको व्यवस्था गरेपछि विधाथीहरु धेरै खुशी भएको सुनाए । उनका अनुसार विधार्थीहरु अव नियमित रुपमा स्कुल आउन थालेका छन् । सो स्कुलमा वालविकासदेखि कक्षा ८ सम्म पढाइ हुने गरेको छ । वालविकासदेखि कक्षा ५ सम्म नियमित विधार्थी संख्या १७३ रहेको छ । विद्यालयले हप्ताको ६ दिन खाजाको व्यवस्था गरेको छ । भृकुटी आधारभूत विद्यालय झापा गाउँपालिकाको खाजा खुवाउने पहिलो सामुदायिक विद्यालय बनेको प्रअ भण्डारीले दावी गरे ।
त्यस्तै अर्को सामुदायिक विद्यालय कुवाडीका प्रअ रामनारायण राजवंशी भन्छन् ‘हामीले पनि वालवलिकालाई दिउँसो खाजा खुवाउनका लागि भाँडाकुँडा किनिसकेका छौं र वालवालिकालाई पकाएर खुवाउने मान्छे पनि भेटिसकेकाले अवको १–२ दिनभित्रमा टिफिनको समयमा वालविकासदेखि कक्षा ५ सम्मका विधार्थीहरुलाई खाजा खुवाउने छौं ।’
सो विद्यालयमा वालविकासदेखि कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । वालविकासदेखि कक्षा १० सम्म जम्मा ४९७ जना विधार्थी रहेका छन् भने वालविकासदेखि कक्षा ५ सम्म नियमित विधार्थी २५१ जना रहेका छन् ।

त्यस्तै अर्को सामुदायिक विद्यालय त्रिभुवन आधारभूत विद्यालयले पनि बुधबारदेखि वाल शिक्षादेखि कक्षा ५ सम्मका विधार्थीहरुलाई खिर पकाएर खुवाउन थालेको छ । त्रिभुवन आधारभूत विद्यालयका प्रअ सिताराम यादवले आफ्नो स्कुलमा वालविकासदेखि कक्षा ८ सम्मको पढाइ हुने गरेको बताए । वालविकासदेखि कक्षा ५ सम्म नियमित विधार्थी संख्या २३९ जना रहेको उनले जानकारी दिए । त्यस्तै अर्को सालमारा प्राथमिक विद्यालयले पनि मंगलबारदेखि दिवा खाजाको व्यवस्था गरिसकेको प्रअ समसाद आलमले बताए । झापा गाउँपालिकामा जम्मा सामुदायिक विद्यालय २१ वटा रहेका छन् ।त्यसमा ५ वटा मावि र १६ वटा आधारभूत विद्यालय रहेको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए ।