सपना आचार्य,
माई, इलाम,माघ २४ । बर्थिङ सेन्टरमा सुत्केरी गराएपछि आमा र बच्चालाई सुरक्षित राख्न गरिने सुत्केरी सेवा (पिएनसी) परीक्षणलाई अव पाईलट कार्यक्रमका रुपमा माईमा सञ्चालन गरिने भएको छ ।

माईको दानाबारी स्वास्थ्य चौकीसहित जिल्लाका फाकफोकथुम स्वास्थ्य चौकी र लारुम्वा स्वास्थ्य इकाईमा सुत्केरी सेवा (पिएनसी) परीक्षणलाई पाईलट कार्यक्रमको रुपमा सञ्चालन गर्न लागिएको हो ।
सुत्केरी भएको २४ घण्टा, ३ दिन र ७ दिनसम्मको परीक्षणलाई पिएनसी परीक्षण भनिन्छ । सो अबधिमा स्वास्थ्यकर्मीले सुत्केरी महिलाकै घरमा गई आमा र बच्चाको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य निरीक्षक पुष्कर कट्टेलले बताए । जिल्ला स्वास्थ्य कार्यालय ईलामको आयोजनामा दानाबारीमा सुत्केरी सेवा कार्यक्रम विस्तार गर्न स्थानीय तहको क्षमता अभिबृद्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका माईका मेयर दिपककुमार थेबेले सुत्केरी भएको ४२ दिनसम्मलाई सुत्केरी भनिने भएकाले सो समयमा आमालाई आराम र पोषणको आबश्यक्ता रहने बताए । उनले बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन सुत्केरी सेवा कार्यक्रम प्रभावकारी हुनेमा बिश्वास व्यक्त गरे । बिशेष अतिथि रहेका उपमेयर बिष्णुमाया आचार्यले माई नगरमा दानाबारी, महमाई र चिसापानी स्वास्थ्य चौकीबाट ब्यवस्थित बर्थिङ गराईदै रहेकाले पिएनसी परीक्षणले बच्चा र आमाको स्वास्थ्यमा आउने जोखिम अन्त्य हुने बताइन् । उनले सुत्केरी आमाको स्याहारमा नगरले सबै प्रकारको सहयोग गर्न तयार रहेको धारणा राखिन् । जिल्ला स्वास्थ्य कार्यालयका सामुदायिक स्वास्थ्य नर्स सरिता सुब्बा, स्वास्थ्य निरीक्षक पुष्कर कट्टेल र दानाबारी अस्पतालका डा. रामकृष्ण आचार्यको सहजीकरणमा २ दिनसम्म तालिम सञ्चालन भएको छ । तालिममा माई नगरभित्रका ११ जना अनमीहरुको सहभागिता रहेको सिनियर अनमी कमला श्रेष्ठले जानकारी दिइन् ।