दमक, माघ २६ । दमक जेसीजले विद्यालय तहका छात्राहरुलाई लक्षित गरी स्वास्थ्य तथा सरसफाईसम्बन्धी जनचेतनामूलक कार्यक्रम शुरु गरेको छ ।

दमकका संस्थागत विद्यालयहरुमा अध्ययनरत छात्रा विद्यार्थीहरुलाई स्वास्थ्य तथा सरसफाईसम्बन्धी जनचेतनामूलक कार्यक्रमअन्तर्गत महिनावारी हुँदा स्यानेटरी प्याडको प्रयोग र यसको उपयोगिताको बिषयमा सचेतनासंगै स्यानेटरी प्याड वितरण गर्न थालिएको अध्यक्ष सुयोग खरेलले बताएका छन् ।

अध्यक्ष खरेलका अनुसार सामुदायिक बिद्यालयमा सरकारले निशुल्क रुपमा स्यानेटरी प्याड बितरण गर्दै आएपनि संस्थागत विद्यालयमा भने कार्यक्रम नगरेको पाईएपछि जनचेतनाका रुपमा सो कार्यक्रम सञ्चालन गरिएको छ । हालसम्म दमकका चारवटा विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिसकिएको र अन्य विद्यालयमा समेत यस किसिमको सचेतनामूलक कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिने कार्यक्रम संयोजक समेत रहेकी दमक जेसीजकी सचिव सुनिता आचार्यले बताईन् ।

उनले सो कार्यक्रमअन्तर्गत दमकको अक्सफोर्ड अंग्रेजी स्कुलका ४५, सिद्धार्थ बोर्डिङ स्कुलका २०४,समता स्कुलका ५० र दमक ७ को इस्र्टन स्टार अंग्रेजी बोर्डिङ स्कुलका ८० जना छात्रालाई सचेतनासंगै ३७९ थान स्यानेटेरी प्याड समेत वितरण गरिएको वताईन् । स्यानेटरी प्याड अर्जुनधाराको कञ्चन स्यानेटरी प्याड उद्योगले सहयोग पुर्याएको थियो ।
यसैक्रममा दमक ७ स्थित इस्र्टन स्टार बोर्डिङ स्कुलमा कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयमा आयोजित जनचेतनामूलक कार्यक्रममा दमक नगरपालिकाका स्वास्थ्य शाखाका बद्री बराल, दमक जेसीजका अध्यक्ष सुयोग खरेल,महासचिव निरोज आचार्यलगायतले महिनावारी हुँदा विद्यालयमा आउन छाड्ने अवस्था अन्त्य गर्न यस्ता कार्यक्रमले सघाउ पुर्याउने चर्चा गरेका थिए । कार्यक्रममा स्कुलका प्रिन्सिपल एलडी राई,विद्यार्थी, शिक्षक,कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्