झापा, माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका पत्रकारले मंगलवार बिर्तामोडमा प्रतिगमनका विरुद्ध संयुक्त वृहत प्रदर्शन गरेका छन् ।

नेपाल प्रेस युनियन र प्रेस संगठन झापाको आयोजनामा प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरुद्ध प्रदर्शन गर्नुका साथै कोणसभा गरिएको हो । केन्द्रमा संयुक्त आन्दोलन नभए पनि झापामा पहिलोपटक संयुक्त आन्दोलन गरिएको हो ।
प्रदर्शनमा ‘प्रेस स्वतन्त्रता जिन्दावाद, लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, असंवैधानिक कदम तुरुन्त सच्याऊ, प्रतिगमन मुर्दावाद’ लगायतका नारासहित बिर्तामोड बजार परिक्रमापछि कोणसभा गरेका थिए । कोणसभाका पत्रकारहरुले प्रधानमन्त्री ओलीलाई तानाशाह बन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
सञ्चारकर्मीले हरेक राजनैतिक परिवर्तनमा दर्विलो र ऐतिहासिक योगदान पुर्याएको स्मरण गर्दे वक्ताहरुले पत्रकारले झापाबाट थालिएको आन्दोलन देशव्यापी हुने र त्यसले सफलता पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाईले प्रधानमन्त्री ओलीको कदम लोकतान्त्रिक आन्दोलनको विरुद्ध भएको बताउँदै संसद विघटन गर्ने कार्य विरुद्ध देश नै आन्दोलित हुनुपरेको वताए ।
महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले झापाका पत्रकार ओलीका हनुमान मात्र नभएको बताए । उनले झापाली सचेत पत्रकारले ओलीको अलोकतान्त्रिक कदम अन्त्य गरेरै छाड्ने उद्घोष गरे ।
कोणसभामा प्रेस संगठनका प्रदेश–१ अध्यक्ष राजन केडी, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य तीर्थ सिग्देल, फोनिजका प्रदेश १ इन्चार्ज दिपीन राई, प्रेस संगठन प्रदेश सदस्य सुब्रत न्यौपाने, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, सञ्चारकर्मी लीला अनमोल, इन्द्रसिंह राजवंशीलगायतले प्रदर्शनमा ऐक्यवद्धता जनाएका थिए

प्रेस संगठनका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामार नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्