कानेपोखरी , माघ २९ । जातिकै पहिलो र एकमात्र ठाकुर ब्रम्हानीको मन्दिरमा मेला लगाई राजवंशीहरुले कुल देवीदेवताको पुजा गरेका छन् ।

मोरङको बेलबारी नगरपालिकामा राजवंशी जातिको पहिलो र एकमात्र मन्दिर रहेको छ । त्यहाँ ठाकुर र ब्रम्हानीको मन्दिर निर्माण गरिएको हो । लक्ष्मी सामुदायिक वनको साढे ३ विगाह जग्गा उपभोग गरी राजवंशीहरुले त्यहाँ मन्दिरलगायतका विभिन्न संरचना निर्माण गरेका हुन् । हरेक वर्षको माघ २७ गते त्यहाँ मेला लगाई कुल देवीदेवताको पुजा गर्दै आएको राजवंशी समाज धार्मिकस्थल समितिका अध्यक्ष जलधर राजवंशीले बताए । उनले २०७४ सालदेखि प्रत्येक वर्ष मेला लगाएर पुजाआजा गर्ने गरिएको जानकारी दिए ।

हिन्दू धर्म मान्ने राजवंशी जातिमा आफ्नै कुल देवीदेवता पनि रहेका छन् । उनीहरुले ठाकुर र ब्रम्हानीलाई कुल देवीदेवताको रुपमा मान्ने गरेका छन् । आफूहरुले २०६७ सालमा वनको साढे ३ विगाह जग्गा समितिको नाममा पारेको बताउँदै अध्यक्ष राजवंशीले सोही जग्गामा २०७४ सालमा १४ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएको जानकारी दिए । त्यहाँ मन्दिरसँगै मंच निर्माण गरिएको छ भने सभाहल पनि तयार हुँदैछ । समितिले माघ २६ गते पुजापाठ गरी भोलिपल्ट मेला लगाउने गरेको छ । यस वर्षको मेलामा पनि व्यापक उपस्थिति रहेको उनले बताए । ब्रम्हानी देवीको पुजा आराधनासँगै सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । प्रदेश सांसद लोकप्रसाद ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काली माविका प्रधानाध्यापक नारायण कोइराला , समाजसेवी नगेन्द्र जमरकट्टेल , बद्री राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन डालवर राजवंशी र मोहन राजवंशीले गरेका थिए । भूमिपुत्रको रुपमा झापा , मोरङ र सुनसरीमा बसोबासित आदिबासी राजवंशीहरुको सँख्या डेढ लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्