झापा, माघ ३० । एनएमवी बैँक प्रदेश नं. १ अन्तरगत बिर्तामोड शाखाको क्युआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

एनएमवी बैँक प्रदेश नं.१ को आयोजनामा विर्तामोडस्थित कृषि उपज बजारमा शुक्रबार क्युआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कृषि थोक बजारमा व्यवसाय गर्ने करिब २ सय ५० व्यवसायीहरुलाई सरल तथा सुरक्षित कारोबारको लागि उक्त कार्यक्रम गरिएको जनाइएको छ । विश्वबजार प्रविधिमैत्री बनिरहँदा आफूहरुले कृषि थोक बजारमा उक्त कार्यक्रम ल्याएको एनएमवी बंैकका मेघराज तिम्सिनाले बताए ।
नगद कारोबार गर्दा विभिन्न संक्रमण फैलन सक्ने, पैसा हराउने र च्यातिने समस्याबाट मुक्त हुन, खुद्रा साट्न हुने समस्याको अन्त्य गर्न, व्यवसायीहरुलाई बचत तथा बैंक कारोबारमा प्रेरित गर्नलगायतका धेरै उद्धेश्यका साथ बिर्तामोडको कृषि उपज तथा थोक बजारमा उक्त कार्यक्रम गरिएको प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेले बताए । त्यस्तै बिर्तामोड नगरपालिका डिजिटलाईजेसन र प्रविधिको क्षेत्रमा अघि बढेको कारण व्यवसायीहरुले यस्तो किसिमको सेवा लिन र दिनको निम्ति क्युआर कोडले सहयोग गर्ने बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र लिङदेनले जोड दिए ।

व्यवसाय गर्दा नगद कारोबारले आफ्नो कारोबार नदेखिने कारण धेरैले ऋण खान समस्या हुँदै आएको वा अन्य विभिन्न ठाउँहरुमा बैँक स्टेटमेण्टमा समेत समस्या हुने देखिएकोमा क्यु आरले यस्तो समस्याहरुमा सहयोग गर्ने कार्यक्रमका वक्ताहरुले अघि सार्दै सबैलाई बैंक प्रणालीमा जान र व्यवसायमा उक्त किसिमको क्यु आरको प्रयोग गर्न सुझाव दिएका थिए । कृषि उपज कृषिथोक बजारका सबै व्यवसायीहरुलाई उक्त क्युआर उपलब्ध गराउने साथै झापाका सबै क्षेत्रमा सबैखाले व्यवसायमा विस्तारै उक्त प्रविधिलाई लिएर अघि जाने बताइएको छ । कृषि थोक बजारमै इन्टरनेट सुविधाको पहुँज बढाउँदै बैंकको शाखारहित सेवाको समेत व्यवस्था मिलाउने योजना रहेको एनएमवी बैंक प्रदेश नं १ का प्रमुख घिमिरेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्