बिर्तामोड, फागुन १ । क्यान महासंघ झापा शाखाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका बडा नं. ४ स्थित गोमेन्द्र महाविद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय सदस्य भुपेन्द्र मैनाली रहेका थिए कार्यक्रममा झापा क्यानका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य दिपेश पाठक विशिष्ट अतिथि र अतिथिमा प्रदेश नं १ सचिव रोशन दाहालको उपस्थिति रहेको थियो ।
क्यान महासंघ झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सुभ कुमाई पाठकले स्वागत मन्तव्य राखेकी थिइन् । उनले विश्वमा कोरोना महामारीले ग्रस्त भएको यो विषम परिस्थितिमा झापा क्यानले सोचेअनुरुप कार्य गर्न नसके पनि समाजलाई डिजिटल रुपान्तरण गर्ने कार्यमा उल्लेख्य कार्य गरेको बताइन् । शुभकामना दिंदै कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय सदस्य मैनालीले क्यानको गरिमामय इतिहासबारे प्रकाश पारेका थिए । उनले क्यानले सरकारको नीतिनिर्माण तथा प्रविधिको क्षेत्रमा उल्लेख्य भूमिका खेलेको समेत प्रस्ट पारे । कार्यक्रमका क्रममा संस्थाको सचिव कृष्णप्रसाद घिमिरेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनोद श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा झापा जिल्लामा प्रविधिको क्षेत्रमा सेवारत संस्थाका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो । संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य पाठकले समग्र झापा क्यान तथा क्यान महासंघको भूमिका र विकासक्रमबारे प्रस्ट्याएको क्यान झापाका कार्यकारी सदस्य तथा मिडिया कोअर्डिनेटर डिल्लीराम अधिकारीले बताए ।