झापा, फागुन २ । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस नेपालसहित विश्वभर आज मनाइँदैछ ।

विशेषगरी युवायुवतीले यसलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । यस दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव पनि राख्ने गर्दछन् । ‘विल यु वि माई भ्यालेन्टाइन’ आज सबैले आफ्ना प्रेमी तथा प्रेमिकालाई यही वाक्यबाट सम्बोधन गर्ने गर्छन् । प्रेमको प्रतीक मानिने रेड रोज अर्थात् रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । । ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आइ लभ यु’ सम्म भन्नका लागि यही गुलाब प्रयोग गरिन्छ । जुन भावना शब्दमार्फत व्यक्त गर्न वर्षौंसम्म सकिंदैन, तर एउटा पूर्ण फक्रिनसकेको गुलाबको फूलले त्यो भावनालाई प्रतिबिम्बित गर्न पर्याप्त हुन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् ।

यो दिवसको सुरुवात प्राचीन रोमनबाट शुरु भएको हो । विशेषगरी भ्यालेन्टाइन डे को औपचारिक शुरुवात इस्वी सम्वत २६९ रोमनबाट शुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।तत्कालीन रोमन सम्राट क्लोडियस द्धितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात जेरकी छोरीलाई दिएको कथन छ । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।

उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुँदैछन् । बिर्तामोडको विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएका छन् । बिर्तामोडको होटल टाइमलेस मोमेन्टस्ले सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा चर्चित रकस्टार अनिल सिंहसहित श्रेया राई , सन्ध्या जोशी र समीक्षा दाहाललगायतका कलाकारहरुको प्रस्तुती रहने छ । भ्यालेन्टाइन डेलाई विशेष बनाउन सो कार्यक्रम आयोजना गरिएको होटलका प्रबन्ध निर्देशक रोचक बस्नेतले बताए । उनले बिहान १० बजेदेखि नै सांगीतिक कार्यक्रम शुरु हुने जानकारी दिए । बिहान १० देखि दिउँसो २ बजेसम्मका लागि प्रवेश निशुल्क गरिएको उनले बताए । त्यसपछि टिकटको व्यवस्था गरिएको छ । त्यस्तै बिर्तामोड ९ मा रहेको उज्यालो चिन्तन चौतारी रिसोर्टले पनि आइतबार सांगीतिक कार्यक्रम राखेको छ । कार्यक्रममा चर्चित गायक दीपक लिम्बू , कलाकार सुवाष मेचेको प्रस्तुती रहने रिसोर्टका संचालक प्रकाश बुढाथोकीले बताए । भ्यालेन्टाइन डेका लागि शहर बजारका विभिन्न फूल पसल रातो गुलाबले झकिझकाउ भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्