बिर्तामोड, फागुन ५ । झापा जिल्लाका सबै पालिकाहरुले बालमैत्री घोषणा गर्न आवश्यक नीति , कार्यविधि र रणनीति बनाई सिंगो जिल्लालाई नै बालमैत्री घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय तहको यही कार्यकालभित्र सिंगो जिल्लालाई नै बालमैत्री घोषणा गर्ने जिल्लाका पालिका प्रमुख र प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका हुन् ।

बाल अधिकार सुनिश्चितताका लागि राष्ट्रिय बाल अधिकार परिषद काठमाडौंको सहजीकरणमा जिल्ला समन्वय समिति झापाले आज बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय छलफलमा सहभागी पालिकाका प्रमुख र प्रतिनिधिहरुले बालमैत्री घोषणासहित ६ बुँदे प्रतिवद्धता व्यक्त गरेका हुन् । बाल अधिकार सुनिश्चितताका लागि संघीय , प्रदेश , स्थानीय सरकार तथा सरोकारवालाबीच आपसी समन्वयमा काम गर्ने , स्थानीय तहहरुमा बालबालिकासम्बन्धी कार्यविधि , नीति, रणनीतिक योजना बनाई कार्यान्वयन गर्ने , स्थानीय तहमा बाल अधिकार सुनिश्चितताका लागि

बालबालिकासम्बन्धी बाल अधिकार संरक्षण ऐन २०७५ ले व्यवस्था गरेको प्रावधानलाई कार्यान्वयन गर्ने , गत पुष २८ गते विराटनगरमा बाल अधिकार सुनिश्चितताका लागि प्रदेशस्तरीय छलफलबाट घोषणा भएको ११ बुँदे घोषणापत्र कार्यान्वयन गर्नेलगायतका बुँदासमेत रहेका छन् ।छलफलको व्यवस्थापन महिला जनचेतना केन्द्र काँकरभिट्टा र मानव अधिकार मंच इलामले गरेका थिए भने सहयोग किन्डर मिशन रेक जर्मनको रहेको थियो । कार्यक्रममा देशको पहिलो तथा प्रदेशकै पहिलो बालमैत्री नगर बन्न सफल भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बालमैत्री घोषणा गर्दा आइपरेका अप्ठ्यारा र अवको चुनौतीका बारेमा बताएका थिए ।त्यसैगरी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल ,अर्जनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य ,झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह , बुद्धशान्ति गाउँपालिककी उपाध्यक्ष मीरा भूर्तेल , भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई , शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई ,कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत , बिर्तामोड नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना , हल्दीवारी गाउँपालिकाका अधिकृत राजन न्यौपाने , कमल गाउँपालिकाका महिला तथा बालबालिका शाखाकी रेनुका गौतमले आआफ्नो पालिकालाई बालमैत्री घोषणा गर्ने प्रतिवद्धता जनाउँदै ६ बुँदे प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उप प्रमुख मीना पराजुली , मानव अधिकार मंचका मोहनसिंह थेबे , गैरसरकारी संस्था महासंघ झापाका सचिव रोमराज ढकालले पनि बोलेका थिए । राष्ट्रिय बाल अधिकार परिषदका १ नं प्रदेश समन्वय अधिकारी सुमन अधिकारीले स्थानीय तहमा बालबालिकाको प्रबद्र्धन , अबस्था , चुनौती , संभावना र भूमिकाका विषयमा सहजीकरण गरेका थिए । त्यस्तै सोही कार्यालयका वासु अधिकारीले बाल हेल्पलाइन १०९८ का बारेमा जानकारी दिएका थिए । महिला जनचेतना केन्द्रकी सचिव सतिा गुरुङको स्वागत र कार्यकारी निर्देशक राधा प्रधानले संचालन गरेको कार्यक्रममा मानव अधिकार मंचका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्